कारोबार


८० प्रतिशत देशमा म्यानपावरको छैन पहुँच, यी हुन् श्रमिक पठाएका २२ देश

८० प्रतिशत देशमा म्यानपावरको छैन पहुँच, यी हुन् श्रमिक पठाएका २२ देश

उजिर कार्की
साउन २, २०७७ शुक्रबार १५:३६,

सरकारले खुल्ला गरेका ८० प्रतिशत देशमा म्यानपावर कम्पनीको पहुँच नभएको पाइएको छ। यी देशबाट राेजगारीकाे लागि माग ल्याएर पनि म्यानपावर कम्पनीले नेपाली श्रमिकलाई पठाउन सकेका छैनन्।

सरकारले वैदेशिक रोजगारीका लागि ११० वटा देश खुल्ला गरेकोमा दुई देश मात्रै बन्द छन्। तर म्यानपावर कम्पनीले भने २२ वटा देशमा मात्रै श्रमिक पठाएका छन्।

गत आर्थिक वर्षको तथ्यांक अनुसार म्यानपावर कम्पनीले २२ देशमा १ लाख ७२ हजार २ सय ६६ जना नेपालीलाई रोजगारीमा पठाएका छन्। यी मध्ये १५ हजार १ सय २९ जना महिला छन्।

आर्थिक वर्ष २०७४/०७५ मा ३ लाख ५४ हजार ८२ जना म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारीमा गएका थिए। आर्थिक वर्ष २०७५/०७६ मा म्यानपावर कम्पनीमार्फत २ लाख ८ हजार ३ सय ५२ जना विदेशिएका थिए।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले राम्रा देशमा श्रमिक पठाउन नसकेको स्वीकार गरेका छन्। काम र कमाई पनि राम्रो भएका देशमा श्रमिक पठाउनका लागि सरकारले समेत सहयोग नगरेको गुरुङले आरोप लगाए।

‘विकसित मुलुकमा कामदार पठाउनका लागि त्यहाँ पुगिसकेपछि श्रमिक फर्किन्छन् भन्ने सुनिश्चितता चाहियो। भागेर उतै बस्ने डर भयो, त्यही भएर त्यहाँका रोजगारदाता कम्पनी नेपाली श्रमिक लिन मान्दैनन्’, गुरुङले भने, ‘व्यवसायी बजार प्रवर्द्धनका लागि गएका छन्, तर श्रमिक भाग्दैनन् भन्ने सुनिश्चतता हामीले दिन सकेनौं। सरकारले श्रम सम्झौता गरे हामीलाई सहज हुन्थ्यो।’

विकसित देशमा श्रम सम्झौता नभएसम्म व्यवसायीको पहुँच नपुग्ने गुरुङले बताए।

पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा म्यानपावर कम्पनीले पठाउने श्रमिकको संख्या पनि हरेक वर्ष कम हुँदै गएको छ। पछिल्ला चार वर्षमा निरन्तर वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या घटेको वैदेशिक रोजगार विभागले जनाएको छ।

गत आर्थिक वर्ष यो संख्यामा झनै कमी आयो। म्यानपावरले २२ देशमा मात्रै पठाए पनि १ सय २७ देशमा श्रमिक आफैँ रोजगारी खोज्दै पुगेका छन्। संस्थागततर्फ खुल्ला गरेका देशमाभन्दा बढी व्यक्तिगत रुपमा श्रमिक जान पाउँछन्।

म्यानपावरले पठाउन नसकेको धेरै देशमा श्रमिक आफैँ पुगेका छन्।

म्यानपावर कम्पनीले २२ देशमध्ये अफगानिस्तान १४०, बहराइन ३०४८, ब्रुनई दारुस्लाम १०७, साइप्रस १ हजार ४४२, हङकङ ८५, जापान १८९, जोर्डन २ हजार ३७२, कुवेत ८ हजार४०० र मकाउ २३२ जनालाई पठाएका छन्। मालदिभ्स ६, माल्टा १५८, मौरिसस ५८, ओमान १ हजार ६१६, पानामा ७३, पोल्याण्ड १२, पोर्चुगल १०८, रोमानिय १ हजार ४४२ र टर्की ५०२ जनालाई पठाएका छन्।

यो वर्ष पनि व्यवसायीले पठाउने प्रमुख गन्तव्य पहिलेकै हुन्। खाडीका तीन देश र मलेसिया नै यो वर्ष पनि प्रमुख श्रम गन्तव्य रहे। युएई ४६ हजार ५४२, साउदी ३९ हजार २३६, मलेसिया ३८ हजार ९० र कतार २७ हजार ५१ जनालाई पठाएका छन्।

आर्थिक वर्ष २०७४/०७५ मा कूल ६ लाख १२ हजार ६ सय ५ जना नेपाली विदेशिएका थिए। २०७५/०७६ मा ५ लाख ८ हजार ८ सय २ जना विदेशिएका थिए। गत वर्ष व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर ३ लाख ६८ हजार ४ सय ३३ जना विदेशिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad