तनहुँका विभिन्न ठाउँमा गए राति अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।
तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको हो। त्यसैगरी ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच र ब्यास नगरपालिकामा पाँच गरी १० जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ।
घरको भित्ताले च्यापिएर गम्भीर घाइते भएकी विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए।
यसैगरी व्यास नगरपालिका-७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै ऋषिङ गाउँपालिका-८ पल्ट्याङमा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुने सबै एकै परिवारका हुन्।
एकै घरका ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीया नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा पहिरोमा बेपत्ता भएका प्रहरीले जनाएको छ। घर मुली अणबहादुर थापा अर्को घरमा सुतेकाले जाेगिएका छन्।
पहिरोमा परेर घाइते भएकी ६० वर्षीया ज्योतिमाया थापालाई उपचारका लागि भीमाद लगिएको छ।
त्यसैगरी ब्यास नगरपालिका ९ मा केशरवहादुर थापाको घर पहिरोले बगाउँदा एकै परिवारका चार जना बेपत्ता भएका छन्। ‘उनीहरु सबैको नाम खुल्न बाँकी छ,’ डिएसपी तिमिल्सनाले नेपालखबरसँग भने, ‘घटना सोमबार बिहान पाँच बजे तिरको हो। यतिबेला सबै घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार सुरु गरेको छ।’
त्यसैगरी व्यास नगरपालिका ९ मै मानबहादुर घर्तीको घर पहिरोले पुरिँदा घर्तीकी ७० वर्षीया आमा बेपत्ता भएकी छन्। बेपत्ता सबैको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी र उद्धार सुरु गरेका छन्।
Shares

प्रतिक्रिया