समाज


झापामा निरन्तर वर्षा : बाढीले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

झापामा निरन्तर वर्षा : बाढीले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

नेपालखबर
असार २८, २०७७ आइतबार २:२१,

झापाको झापा गाउँपालिकास्थित बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। भद्रपुरमा बाढीले बगाउँदा अर्का एकजना बेपत्ता भएका छन्।

झापा गाउँपालिका-५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए। बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई शनिबार साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन्।

त्यसैगरी भद्रपुर नगरपालिका ३ का ३३ वर्षीय हिरण राई मेची नदीमा बेपत्ता भएका छन्। प्रहरीका अनुसार उनी नुहाउन नदीमा पस्दा बगेर बेपत्ता भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजी तथा उद्धारका लागि टोली परिचालन गरे पनि बेपत्ता राई फेला परेका छैनन्।

यसैबीच कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार परिवार र गौरीगञ्ज–१ को एक परिवार विस्थापित भएका छन्। त्यस्तै, शिवसताक्षी–१० का १५ परिवार र गौरीगञ्ज–१ का १२ गरी २७ परिवार उच्च जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ।

कनकाई नदीमा आएको बाढीका कारण चार घर पूर्णरूपमा क्षति भएको छ। बाढीका कारण शिवसताक्षी-१० का प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु मुसरको परिवार विस्थापित बनेका हुन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर दुई–दुई थान त्रिपाल र राहत सामग्री वितरण गरिएको छ।

असार १४ गते शिवसताक्षी-१० को सुकुम्बासी बस्तीमै कनकाई नदीको बाढीका कारण पाँच परिवार विस्थापित भएका थिए। विस्थापित भएका पाँच परिवारका २२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराइएको रेडक्रस सोसाइटी झापाका इमेर्जेन्सी अपरेशन सेन्टर (इओसी) का फोकल पर्सन हरिशरण खड्काले जानकारी दिए।

खड्काका अनुसार कनकाई बेसिनअन्तर्गत कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका एक हजार तीन सय १० परिवार बाढीको जोखिममा छन्।

कनकाई नदीका कारण झापा गाउँपालिकाको १, २, ३ र ७ नम्बर वडा बढी जोखिममा परेका छन्। त्यस्तै, गौरीगञ्ज १ र २ का सात टोल जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ। झापा गाउँपालिका-७ स्थित मदगाछबाट कनकाई नदीको बाढी गाउँ बस्ने सम्भावना धेरै भएकाले हाल त्यहाँ स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले बाँध निर्माणको काम गरिरहेका छन्।

उच्च सतर्कता अपनाउन आग्रह
झापा, इलाम, मोरङ र सुनसरीमा अविरल वर्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ।

विभागले आइतबार बिहान ती जिल्लाका मोबाइल फोनमा १११५ नम्बरबाट सन्देश पठाउँदै ती जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएको हुँदा नदी आसपासमा बाढी आउन सक्ने जानकारी दिएको छ।

विभागद्वारा पठाइएको सन्देशमा झापाको कनकाई नदीमा जलसतह सतर्कता नजिक रहेको र खतरा नजिक पुग्न सक्ने चेतावनी दिइएको छ। त्यसैगरी, सुनसरीको बुढीखोला, खेसलिया, लोहन्द्रा र अन्य साना खोलामा जलसतह खतरा तह नजिक पुगेको हुँदा तटीय क्षेत्रमा बाढी आउनसक्ने उक्त सन्देशमा उल्लेख छ।

विगत २४ घण्टामा पूर्वी नेपालमा भारी वर्षा भएको छ। झापाको कनकाई नदीमा जलसतह शनिबार दिउँसो नै जोखिमउन्मुख तहमा पुगिसकेको थियो । कनकाई नदीमा तीन दशमलव आठ मिटर जलसतह पुगेपछि सतर्कता अपनाउन समुदायमा मोबाइलबाट सन्देश पठाउने गरिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad