पोखरामा पहिरामा घर पुर्दा एक जनाको मृत्यु भएको छ भने तीन जनालाई सकुशल उद्धार गरिएको छ।
पोखरा महानगरपालिका–२६ पैतेडाँडा भन्ने ठाउँमा दुर्गाबहादुर सुनारको ब्लकले बनेको टिनले छाएको दुई कोठाको घर गएराति माथिबाट आएको पहिराले पुरिँदा घरधनी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पहिरामा परी बेपत्ता भएका वर्ष ३०÷३५ का सुनारको प्रहरी तथा स्थानीय बासिन्दाले खोजतलास गर्दा बिहान मृतावस्थामा उद्धार गरिएको कार्र्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
घटनास्थलबाट स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा सुनारको श्रीमती, एक छोरा र छोरीलाई भने सकुशल उद्धार गरिएको छ। घटनाका बारेमा जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा ११ जनाको प्रहरी टोली घटनास्थलमा परिचालित गरिएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए।
पोखरामा अविरल वर्षासँगै आएको पहिरामा परी गएराति विभिन्न तीन स्थानमा गरी सात जनाको ज्यान गएको छ भने ११ जना घाइते भई पोखरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। सराङकोटमा पाँच तथा हेम्जामा एक जनाले पहिराका कारण ज्यान गुमाएका छन्।

प्रतिक्रिया