कारोबार


सबै म्यानपावर कम्पनी नवीकरण हुने

सबै म्यानपावर कम्पनी नवीकरण हुने

नेपालखबर
असार २६, २०७७ शुक्रबार ९:२९,

एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नवीकरण हुने भएको छ।

कोभिड १९ का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि बाधा अडकाउ फुकाउ मार्फत एक वर्षका लागि सबै म्यानपावर कम्पनीको नवीकरण गर्ने व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताए।

संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री यादवले कानूनमा न्यूनतम एक सय जना कामदार पठाए मात्र नविकरण हुने व्यवस्था रहेको र अहिलेको परिस्थितिका कारण कानून मन्त्रालयको सल्लाह बमोजिम बाधा अडकाउ फुकाउबाट नविकरण गर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्मा पठाउन लागिएको बताए। उनले यसअघि दुई पटकसम्म मन्त्रिपरिषदमा प्रस्ताव राखेको तर छलफल नभएपछि कानून मन्त्रालयको सहमति लिएर काम गर्न लागेको बताए।

वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखिकरण दिने संस्थाहरुको नवीकरण गर्ने सम्बन्धमा भने कानून मन्त्रालयको सहमति नभएकाले नविकरण के गर्ने भन्ने अन्योल भएको बताए।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैह्रेले सबै म्यानपावर कम्पनीको नवीकरणको प्रक्रियाको सुरुवात गर्न माग गरे। उनले असार मसान्त भित्र नविकरण भइसक्नुपर्ने व्यवस्था भएकाले अहिले नै नवीकरणको प्रक्रियाको सुरुवात गर्नुपर्ने बताए। सरकारबाट निर्णय ढिलो हुँदा ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी बन्द हुने अवस्था आउन लागेको र असार मसान्त सकिन चार दिन मात्र बाँकी रहेकाले छिटो निर्णय गरी कम्तिमा नविकरणको प्रक्रियामा जान दिन आग्रह गरे।

छलफलमा सांसदहरुले एकसय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीलाई नवीकरण गर्नुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको तर अहिलेको परिस्थितिका कारण एउटा आर्थिक वर्षका लागि नविकरण गर्ने व्यवस्था छिटो मिलाउन आग्रह गरेका छन्। कानूनमा भएको व्यवस्था परिवर्तन गर्न नसकिने भएकाले सकेसम्म लचकता अपनाएर सहज बनाउन मन्त्रालयले नै अग्रसरता लिनुपर्ने सांसदहरुले बताए।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारमा जाने नयाँ कामदारको श्रम स्वीकृति रोकिएको बताए। उनले पुनः श्रम स्वीकृति लिनेहरुका लागि भने अनलाइन प्रणाली मार्फत आवेदन दिन सकिने र तोकिएको दिन र समयमा आएर श्रम स्वीकृति नविकरण गर्न सक्ने व्यवस्था गरिएको बताए। उनले सात वटै प्रदेशका कार्यालयबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको समेत बताए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि वैदेशिक रोजगार क्षेत्र प्रभावित भएको छ। सबै अन्तर्राष्ट्रिय उडान बन्द रहेको र श्रम स्वीकृति पनि बन्द भएका कारण म्यानपावर कम्पनी पूर्ण रुपमा बन्द भएका छन्। व्यवसायीहरुले न्यूनतम एक सय जना कामदार नपठाए नवीकरण नहुने अवस्था आएपछि सहजिकरण गरी एक वर्षका लागि नविकरण गर्न दिन माग गर्दै आएका छन्। यस्तै अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नवीकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad