पूर्वपश्चिम राजमार्ग नजिकै पर्छ धनुषाको बडहडी बजार। राजमार्गको पूर्वतर्फ बग्छ बडहडी खोला।
बडहडी बजारदेखि करिब १ किलोमिटर उत्तर रामाजर्गबाटै पूर्व हेर्दा खोलाकै छेउमा छ सानो बस्ती। राजमार्गबाट आउजाउ गर्दा आँखै गगाडि खोलामै देखिन्छ बस्ती। वर्षातको बेला खोलामा बाढी सुसाउँदा बस्तीबासी त्रसित हुन्छन्, पानी परे रातभर निदाउन सक्दैनन्।
‘त्यहाँ मानिसहरु कसरी घर बनाएर बसेछन्? तिनलाई खोलामै घर बनाएर बस्न डर लाग्दैन? खोलामा बाढी आएको बेला कसरी बस्छन् होला?’ यस्तै नानाथरी प्रश्न बस्तीमाथि नजर पर्ने हरेक व्यक्तिको मनमा उब्जिन्छ। धनुषाको मिथिला नगरपालिका ९ मा पर्ने खोलाको यो जोखिमयुक्त वस्तीको नाम भने सुन्दरपुर हो।
‘जव आकाशमा बादल माडारिएर मेघ गर्जिन्छ, तब सुन्दरपुरबासी त्रसित हुन्छन्। हामी निकै डराउँछौं,’ वस्तीकी सावित्री देवकोटाले भनिन्, ‘हामी सबै सकुम्बासी हौं। अन्त टेक्ने, समाउने केही छैन, कहाँ जाऊ?’
बस्तीका कसैको पनि सुरक्षित ठाउँमा जग्गा जमिन छैन। त्यसैले खोलाको बगरकैअलि माथिल्लो सतहमा घर बनाएर बसेका छन्। यस्तो वर्षा र बाढीको बेला उनीहरु दिनरात डरत्रासमै हुन्छन्।
सावित्री देवकोटाको घर बस्तीको सबभन्दा दक्षिण बडहडी र झप्सी खोलाको दोभावनमा छ। खोलाले धेरै सतह काटिसकेको छ। सावित्री भन्छिन्, ‘वर्षाको बेला दिन त जसोतसो काट्छौं, तर राति भने बाढीले घर बगाउँछ की भनेर निदाउन सक्दैनौँ।’
सावित्री माइतमा छोराछोरी सहित बस्दै आएकी छन्। तीनवर्ष अघिसम्म मिथिला नगरपालिकाकै ढल्केबरमा बुबा विर्खबहादुर देवकोटाको घर थियो। ऋणको कारण घडेरी नै बेचे। र, सुकुम्बासी भएर विर्खबहादुर सपरिवार बडहडी खोलाकै सुन्दरपुर वस्तीमा गएर छाप्रो बनाइ बस्न थाले।
सबभन्दा पछाडि वस्तीमा बास बस्न गएको कारण सबैभन्दा जोखिमपूर्ण ठाउँमा उनकै घर छ। सावित्रीलाई बाढी पहिरोको मात्र होइन छेउमै पर्ने चुरेजंगलबाट आउने जंगली जनाबरको पनि त्यतिकै डर छ।
‘बालबच्चा छन्। केहि महिनाअघि वस्तीमा जंगली हात्ती पसेर घर भत्कायो। जंगलबाट बाघ, भालु जंगजली जनारब पनि आउँछन्। बाढी र जंगली जनाबरको उत्तिकै घर छ,’ सावित्रीले भनिन्।
हावाहुरी र वर्षाको बेला वस्तीबासी निकै त्रसित हुन्छन्। खोलामा बाढी आउँदा नजिकैकका अन्य गाउँबस्ती र बजारसम्म जानसक्ने अवस्था हुँदैन।
बस्तीमा विद्यालय छैन। त्यसैले बस्तीका बालबालिका खोला र राजमार्ग पारी बेंगाडाबर बजारमा रहेको विद्यालयमा पढ्न जान्छन्। बाढी तरेर टाढा जान नसक्ने बालबालिका विद्यालय जानबाट बञ्चि हुन्छन्।
‘बाढी आउँदा त्रासमा त हुन्छौँ नै, बाढी आउँदा गाउँ बाहिर जाने कुनै बाटो हुँदैन। बालबालिका विद्यालय जानबाट बञ्चित हन्छन्। बाढीमा हामी वस्तीका बन्धक जस्तै हुन्छौं,’ सुन्दरपुर बस्तीका कुमार परियारले भने, ‘सरकारले कुनै सुरक्षित ठाउँमा हामी जस्ता सकुम्बासीलाई व्यवस्थापन गरेन। त्यसैले खोलामै जसोतसो जिन्दगी गुजार्दैछौं।
वर्षा र बाढीको बेला बस्ती बाहिर निस्किन समस्या हुने भएकाले १ महिनासम्मको राशन एकैपटक किनेर राख्नु परेको स्थानीय बताउँछन्।
सुन्दरपुर बस्तीमा ६५ परिवारको बसोबास छ। चमार, मुसहर, दमै, कामी लगायत अधिकांश दलित एवं विपन्न समुदायको बसोबास छ। फाट्टफुट केही घर क्षेत्री बाहुन छन्। सबै सकुम्बासी हुन्।
वस्तीका ९९ प्रतिशत मानिस निरक्षर छन्। बस्तीका कोही ज्याला मजदुरी गर्छन, केही खोलामा गिट्टी बालुवा कुटेर, चालेर जीवन यापन गर्ने गरेको स्थानीय दंगबहादु विश्वकर्माले बताए। ‘अहिलेसम्म वस्तीमा बाढी त पसेको छैन। तर सधैँ त्रास छ। वस्तीका ३५ घर उच्च जोखिममा छन्,’ उनले भने।
वस्तीमा खानेपानीकोसमेत समस्या छ। स्थानीयले एउटा संस्थाको सहयोगमा श्रमदान गरी खानेपानीको ट्यांकी निर्माण गरेका छन्।
झण्डै तीन किलोमिटर टाढा रहेको स्थानीय झप्सी खोलाबाट पाइप जोडेर ट्यांकी पानी राखिएको छ। तर, पर्याप्त पानी आउँदैन। दंगबहादुर भन्छन्, ‘टयांकीमा पानी नआउँदा पर खोलाबाट पानी ल्याउएर खान्छौँ। वस्तीमा सबभन्दा ठूलो समस्या पानीकै छ।’
वि.स.२०६४ सालमा तत्कालिन सात दलको सहमतिमा सुन्दरपुर बस्ती बसाइएको थियो। सुरुमा करिब १ दर्जन परिवार मात्र विभिन्न ठाउँबाट आएर यहाँ बसेका थिए। तर पछि विस्तारै विभिन्न ठाउँबाट आएका सकुम्बासी तथा विपन्न परिवार थपिने क्रम बढ्दै गयो।
दंगबहादुर विश्वकर्माी धनुषाको हालको बटेश्वर गाउँपालिका ४ स्थित सुकुम्बासी बस्तीबाट त्यतिबेला बसाइँ सरी आएका हुन्।
चुनावको बेला विभिन्न पार्टीका नेताहरु बस्तीमा पुगेर भोट लिन अनेक आश्वासन दिने गरेका छन्। तर सुकुम्बासीको भेटले जितेपछि कुनै पनि नेता फर्किएर बस्तीमा नआएका स्थानीयको गुनासो छ।

प्रतिक्रिया