विश्वका २ सय ३९ वैज्ञानिकहरुको समूहले गरेको अनुसन्धानमा हावाबाट कोरोना भाइरस फैलन्छ भन्ने तथ्य देखिएको थियो र उनीहरुले डब्लूएचओलाई चिठ्ठी लेखेर यसबारे जानकारी दिएका थिए।
उनीहरुले डब्लूएचओको यसअघिको दिशानिर्देश सुधार गर्न पनि अपिल गरेका थिए। डब्लूएचओले हालै वैज्ञानिकहरुको तथ्यलाई स्वीकार गरेको हो।
यस विषयमा विश्व स्वास्थ्य संगठनका डाक्टर बेनेदेत्ता आलेग्रान्जीले हावाबाट कोरोना भाइरस सर्ने गरेको देखिएको बताएका छन्।
आलेग्रान्जी भन्छन्,‘सार्वजनिक स्थानमा खासगरी भिडभाडमा हावाको माध्यमबाट कोरोना फैलिएको भन्ने दाबीलाई नजरअन्दाज गर्द मिल्दैन।’
वैज्ञानिकहरुको समूहले गरेको अनुसन्धानलाई आधार मान्दै डब्लूएचओले गरेको अध्ययनमा पनि हावाबाट कोरोना फैलिएको देखिएको बताइएको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको डब्लूएचओमा आवद्ध अर्का डाक्टर मारिया भान करकोभले बताएका छन्।
यसअघि डब्लूएचओले कोरोना भाइरस मुख्य रूपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा उसको नाक वा मुखबाट निस्किने सिँगान र थुकका छिटा नजिकैको स्वस्थ व्यक्तिलाई पर्यो भने कोरोना सर्छ भनेको थियो।
यसैकारण डब्लूएचओले यसबाट बच्न भौतिक दूरी कायम गर्नमा जोड दिएको थियो। एजेन्सी

प्रतिक्रिया