स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा देखिएको कोरोना भाइरसले मान्छेलाई संक्रमित बनाउन नसक्ने बताएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ढलको पानीमा देखिएको कोरोना भाइरसले रोग सार्ने भन्ने अहिलेसम्म पुष्टि नभएको बताए।
उनले राजधानीको ढलको नमूना लिएर परीक्षण गर्दा ढलमा कोरोना भाइरस देखिएको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण बताए।
‘विश्वमा अन्यत्र भएका अध्ययनले व्यक्ति कोभिड १९ बाट संक्रमित रहेकै अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोभिड १९ भाइरल आरएनए फडमिन्स अर्थात भाइरसका टुक्राटाक्री भेटिएको देखिन्छ’, प्रवक्ता गौतमले भने, ‘जुन सामान्यतया रोग सार्ने खालको हुँदैन।’
उनले कोराना भाइरस सामान्य तापक्रम भएको पानी, फोहोर पानी, अस्पतालबाट निस्केको पानीमा पनि कोरोना दुर्ई दिनसम्म बाँच्ने अध्ययनले पुष्टि गरेको बताए।
‘ढलको पानीमा कोरोना भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा कोभिड १९ सर्न सक्ने सम्भावनालाई अध्ययनहरुले पुष्टि गरेका छैनन्’, उनले भने। अन्य संक्रमण रोगका कीटाणु प्रसस्त हुने हुँदा ढलको पानीको प्रशोधन भने आवश्यक रहेको उनले बताए।
उनले ढलको पानीमा भाइरस देखियो भन्दैमा आत्तिनुपर्न अवस्था नआएको भन्दै सतर्क रहन सबैमा आग्रह गरेका छन्। ‘ढलको पानीमा कोभिड १९ भाइरसको अंश भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था आएको भन्न मिल्दैन’, प्रवक्ता गौतमले भने।
उनले ढलमा काम गर्ने सफाइकर्ताले पीपीई, मास्क, जुत्ता, चश्मा, बुटजस्ता सुरक्षा सामग्रीको प्रयोग गर्न पनि आग्रह गरेका छन्।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा ढलको पानीमा कोरोना भाइरस भए/ नभएको बारेमा अनुसन्धान गर्ने उनको भनाई थियो।

प्रतिक्रिया