बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाएको छ। केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरो गएको हो।
पहिरोले डेढ दर्जन घर पुरिएको जानकारी आएपनि बाँकी क्षतिको विवरण प्राप्त नभएको बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमले जानकारी दिए।
स्थानीयबासीले भने १७ घर पहिरोले बगाएको र कम्तिमा सातजना बेपत्ता भएको जानकारी दिएका छन्। ‘ठूलो क्षति भएको जानकारी आएको छ, हाम्रो टोली घटनास्थलमा जाँदै छ,’ डिएसपी बमले शनिबार बिहान नेपालखबरसँग भने, ‘अहिले विस्तृत विवरण आइसकेको छैन।’
घटनास्थल सदरमुकामबाट झण्डै पाँच घण्टा टाढा पैदल दूरीमा रहेको जानकारी उनले दिए।
‘स्थानीय जिउनीगाड नदीले सडक बगाएकाले घटनास्थलमा पुग्नै समस्या छ,’ उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थलतिर जाँदैछन्।’
घटना मध्यरातिको भए पनि जिल्ला प्रहरी कार्यालयमा भने शनिबार बिहान मात्रै जानकारी आएको थियो। पहिरोले एउटा पावरहाउस पनि बगाएको छ।
सिंगो गाउँ नै पहिरोको चपेटामा परेकाले स्थानीयको बिचल्ली भएको केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले बताए।
Shares

प्रतिक्रिया