सडक विभाग अन्तर्गतका इन्जिनियर भरतराज आचार्यले तीन करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको पाइएको छ।
सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर आचार्यमाथि उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दा सो कुरा पत्ता लागेको हो।
आचार्यले सार्वजनिक पदमा रही अबैध सम्पत्ति आर्जन गरेको पाइएको भन्दै आयोगले शुक्रबार उनीबिरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार आचार्यले सार्वजनिक सेवामा प्रवेश मितिदेखि २०७६ जेठ मसान्तसम्मको जाँचअवधिमा सार्वजनिक सेवामा रही दुई करोड सात लाख ७९ हजार ९८६ रुपैयाँ आय आर्जन गरेको देखिएको आयोगले बताएको छ।
अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी खर्चमा आचार्यले पाँच करोड २९ लाख ४२ हजार ४६६ रुपैयाँ खर्च तथा लगानी गरेको देखिंदा उनको आयको अनुपातमा तीन करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ बराबरको भागलाई उनको वैध आयस्रोतमा नदेखिएको आयोगको भनाई छ।
सडक विभागमा रही गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्चजीवन यापन गरिरहेको भन्ने उजुरी परेपछि आयोगले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।
उनी सरकारी सेवा अन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव–ओभरसियर पदमा २०४१ मा अस्थायी नियुक्तिमा सेवा प्रवेश गरी २०४३ सालमा ओभरसियर पदमा स्थायी नियुक्ति लिएपछि विभिन्न कार्यालयमा कार्यरत रहँदै २०६४ मा इन्जिनियरमा पदोन्नति भएका थिए।
उनी डिभिजन सडक कार्यालय चरिकोट, दोलखा हुँदै हाल सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत रहेको आयोगले जनाएको छ।
अर्यालले आफू र श्रीमतीका नाममा जग्गाहरु खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै स्रोत नखुलेको रकमहरुसमेत अस्वभाविक मात्रामा बैकिङ कारोवार तथा विभिन्न बैंक खाताहरुमा रकम जम्मा गरी शेयर लगानी लगायतका आफु अनुकूल लगानी खर्च गर्ने गरेको आयोगको छानविनमा पत्ता लागेको छ।
‘सार्वजनिक पद धारण गरेका भरतराज आचार्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज भरतराज आचार्यलाई बिगो तीन करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजाय गरी गैरकानुनी रुपमा भरतराज आचार्यले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरु निजले श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकोले उक्त स्रोत नखुलेका सम्पत्तिहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख। बमोजिम जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती रितादेवी आचार्यसमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ,’ आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया