सरकारले क्यान्सर, डाइविटिजका बिरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ। यस्तै अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आईसीयुमा भर्ना भएका बिरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।
सरकारी, सामुदायिक र निजी अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको उनले बताए।
प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार पीसीआर विधिबाट ४ हजार ४ सय ८३ वटा नमुना परीक्षण भएका छन्। आजसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ वटा परीक्षण भएका छन्।
आजसम्म ३ लाख ५ हजार ६ सय २९ जनाको आरडिटी परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टिनमा ३५ हजार ४ सय ७२ रहेका छन्। यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ८४ जना उपचाररत रहेका छन्। आजसम्म ६ हजार १ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन्।
नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार ७ सय ४० जना कोरोना संक्रमित थपिएसँगै नेपालम संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो।
मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेभि देखिएको छ। यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ।
यस्तै, कोरोना भाइरस (कोभिड-१९) संक्रमित काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षीय वृद्धको मृत्यु भएको छ। प्रवक्ता डा. गौतमले उनी उच्च रक्तचाप र पार्किन्सनको विरामी रहेको बताए।
छाति दुख्ने समस्या र पिसाबमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको १७ गते राति मृत्यु भएको उनले बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया