पाँच जना भारतीय नागरिकले चितवनबाट अपहरण गरेका बालकको काठमाडौँको गंगबुस्थित एक होटलबाट सकुशल उद्धार भएको छ।
असार १ गते साँझ साढे ६ बजे चितवनको नारायणगढबाट ५/६ जनाको समूहले १५ वर्षीय बालक अपहरण गरेको थियो।
भरतपुर महानगरपालिका २ बस्ने बालकलाई भारतीय नम्बरको गाडीमा राखेर काठमाडौँ ल्याएका थिए। गंगबूको एक होटलमा राखेर पीडित परिवारसँग फिरौती रकम माग गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
असार २ गते अपराध अनुसन्धान कार्यालयको टोलीले बालकको उद्धार गर्दै अपहरणमा संलग्न रहेको आरोपमा ५ जना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार बेतियाका १८ वर्षीय सुजित कुमार, १८ वर्षकै गोलुकुमार सोनी, १८ वर्षकै गोलु कुमार, १८ वर्षकै बिक्कि कुमार र १८ वर्षकै मोहम्मद साहिद रहेका छन्।
२०८३ जेठ २९ गते भारतको बेतियामा अपहरणको योजना बनाएको खुलेको प्रहरीको दाबी छ। सुजितकुमार सहित ५ जनाले अपहरणको योजना बनाएर भोलिपल्ट जेठ ३० गते वीरगनज भन्सारबाट गाडीको पास बनाएर नेपाल प्रवेश गरेका थिए। गोलु कुमारको आधारगार्डबाट नेपाली सिमकार्ड निकालेर वाट्सएप प्रयोग गरेको पाइएको छ।
जेठ ३० गते राति १० बजे चितवन पुगेका थिए। चितवनमा काम गर्ने सुजितकुमारका साथीले गुल्मैली होटलमा दुई दिन बस्नको लागि व्यवस्थापन गरिदिएका थिए।
असार १ गते ती बालकलाई सुजितकुमारले इन्स्टाग्राममा सम्पर्क गरी सिद्धार्थ स्कुलको पछाडी बोलाई ४ जनाले गाडीमा चढाएका थिए। त्यसपछि आफू बसिरहेको होटलमा लगेका थिए। त्यहाँ २ घण्टा राखेर फकाएका थिए।
त्यसपछि बालकलाई गाडीमा चढाएर धारिलो हतियार देखाउँदै कुटपिट गर्दै हल्ला गरेमा ज्यान मार्ने धम्की दिएर काठमाडौँ ल्याएका थिए।
असार १ गते राति ११ बजे कलंकी आएका थिए। त्यसपछि उनीहरू राति १ बजे बिक्की पटेलले व्यवस्था गरेको नयाँ बसपार्कको होटल फ्यामिलीको कोठा नं २०३ मा बसेका थिए।
असार २ गते बिहान बालकका बुबालाई वाट्सएपमा कल गरेर २४ घण्टाभित्र २२ लाख रुपैयाँ उपलब्ध गराउन अन्यथा छोराको ज्यान लिन्छौँ भन्दै फिरौती माग गरेको एसपी कार्कीले बताए।
अपहरणकारीले फोन गरेपछि मात्रै बाबुले आफ्नो छोरा अपहरणमा परेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। उनले प्रहरीलाई फोन गर्नु पहिले एक व्यक्तिले ती अपहरणमा परेका बालकका बाबुलाई सोधेका थिए। अपहरणमा परेका बालकले कागजको टुक्रमा आफू अपहरणमा परेको भन्दै आफ्नो र बाबुको नाम, सम्पर्क नम्बर र प्रहरीलाई खबर गरिदिन भनेर लेखेका थिए। त्यो टुक्रा उनले होटल बाहिर फालिदिएका थिए।
त्यो कागजात फेला पारेका व्यक्तिले उनका बाबुलाई फोन गरेका थिए। त्यसपछि प्रहरी पुगेर त्यसआसपास खोजि गर्दा बालक उक्त होटलमा बन्धक बनाइएको अवस्थामा फेला परेका थिए।
प्रहरीले असार २ गते दिउँसो ४ बजेतिर बालकको सकुशल उद्धार गरेको थियो। सोही होटलबाट अपहरणमा संलग्न ५ भारतीय पनि पक्राउ परेका हुन्।
पक्राउ परेका पाँच जनालाई अनुसन्धान गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको पनि एसपी कार्कीले बताए।
Shares

प्रतिक्रिया