समाज


सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, १८ जना घाइते, केहीलाई गोली लाग्यो

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, १८ जना घाइते, केहीलाई गोली लाग्यो

नेपालखबर
असार १५, २०७७ सोमबार १:५३,

सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीलाई गोलीसमते लागेको छ।

सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर नेकपाका युवा विद्यार्थीले आइतबार साँझ सर्लाहीका विभिन्न ठाउँमा मसाल जुलुसमा प्रदर्शन गरेका थिए।

धनकौलमा भएको मसाल जुलुशकै क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो। सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि सुवेदीले घटनामा गोली चलेको पुष्टि गरे।

‘केहीलाई गोलीको छर्रा लागेको छ, तर गम्भीर घाइते कोही छैनन्,’ सोमबार बिहान नेपालखबरसँग उनले भने, ‘कुन पक्षबाट गोली चलेको हो, खुलेको छैन। हामी अनुसन्धान गरिरहेका छौं।’

झडपमा नेकपाका १५ र नेकाका तीन कार्यकर्ता घाइते भएका सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। झडपमा दुई जना प्रहरीसमेत घाइते भएका छन्। झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड आश्रुग्यास प्रहार गरेको थियो। नेकपाका कार्यकर्ताले गोली कांग्रेसका कार्यकर्ताले चलाएको दाबी गरेका छन्।

घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको एसपी पोखरेलले जानकारी दिए। तर, उनले पक्राउ पर्नेको नाम भने खुलाएनन्। ‘अहिले स्थिति सामान्य छ, कुनै तनाव छैन,’ उनले दाबी गरे।

रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो। रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको दाबी नेकपाको छ। तर, कांग्रेसले भने यो आरोप अस्वीकार गर्दै आएको छ।

यादवको शव अझै सर्लाही जिल्ला अस्पतालमै छ। हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गर्न नेकपाले माग गरेको छ। नेकपा सर्लाहीका जिल्ला स्तरीय नेताले गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटनाको विषयमा जानकारीसमेत गराइसकेका छन्।

मसाल जुलुसमा काँग्रेस कार्यकर्ताले गोली चलाएको नेकपाका स्थानीय नेता अजय सिंहले दाबी गरे। आफ्ना कयौँ नेता तथा कार्यकर्तालाई गोलीको छर्रा लागेको र लाठीको प्रहारबाट घाइते भएका सिंहको भनाई छ।

घटनाका घाइतेमध्ये केहीको बरहथवामा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई वीरगञ्जतर्फ पठाइएको सिंहले बताए। यता नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप कांग्रेसले लगाएको छ।

नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुसका क्रममा काँग्रेस कार्यकर्ता धिरु वर्माको घरअगाडि टायर बाल्नुका साथै कुटपिट गरेका काँग्रेसका नेता एवं प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले बताए। नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना छ जना कार्यकर्ता घाइते भएका उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad