समाज


विज्ञ भन्छन्: नेताहरुले घाँटीमा झुन्डाएको कार्डले कोरोना रोक्दैन

विज्ञ भन्छन्: नेताहरुले घाँटीमा झुन्डाएको कार्डले कोरोना रोक्दैन

नेपालखबर
असार १३, २०७७ शनिबार ६:२५,

नेकपा स्थायी समितिको बैठकमा शुक्रबार अधिकांश नेताले कोरोना भाइरस मार्ने कार्ड घाँटीमा नीलो डोरीसहितको एउटा कार्ड झुन्डाएका थिए।  

बैठकमा सहभागी नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले ‘कोरोना भाइरस भगाउने’ भनी नेताहरुलाई उक्त कार्ड वितरण गरिएको बताए। 

‘यो माधव नेपाललाई डाक्टरहरुले दिएका रहेछन्, उहाँले ल्याउनुभएको हो,’ उनले सञ्चारकर्मीसँग भने, ‘जापानमा पनि लगाएर हिँड्छन् रे। घाममा चाहिँ नदेखाउनु भन्ने नियम रहेछ।’

नेताहरुले घाँटीमा झुन्डाएको उक्त कार्ड ‘भाइरस रिमुभिङ कार्ड’ भएको जनस्वास्थ्य विज्ञले बताएका छन। तर यसले कोरोनाभाइरस रोक्न कुनैपनि काम नगर्ने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले जनाएका छन। 

सामाजिक सञ्जालमा उक्त कार्डका बारे लेख्दै पाण्डेले भनेका छन्, 'यसको अध्ययन गर्दा मेरो के निष्कर्ष छ भने यसले कोरोना संक्रमण रोक्न कुनैपनि काम गर्दैन। नाक तथा मुखको नजिक राख्दा यसमा भएको क्लोरिन डाइअक्साइड(यसमा प्रयोग हुने)ले आँखा, छाला तथा स्वाश्प्रश्वासमा गम्भीर असर गर्न सक्दछ। क्लोरिन डाइअक्साइड भुँई, टेबुल आदि सफा गर्न प्रयोग गरिन्छ। यसलाई अनुहारको नजिक ल्याउनु हुँदैन। यसलाई भियतनाम लगायतका देशमा प्रतिबन्ध लगाइएको छ।'

उक्त कार्डबारे डा. पाण्डेको भनाई यस्तो छ:

जापानको एउटा कम्पनीले क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-४ महिना पहिले निकालेको थियो। यसलाई जापान, हंगकंग, चीन, भियतनाम, अरबका देशहरु लगायत धेरै देशमा प्रयोग गरिंदै आएको छ। जसरी ओडोमस वा धुप लगाउँदा लामखुट्टे भाग्दछन् त्यसै गरि यो घाँटीमा झुन्ड्याउदा एलर्जी गराउने तत्व, ब्याक्टेरिया तथा भाइरस भाग्छन् भन्ने कन्सेप्ट राखेर यो कार्ड बनाइएको हो। यो कार्डले ३० दिन काम गर्ने तथा ५० सेमि वरिपरी काम गर्ने कम्पनीले जनाएको छ।त्यस्तै यसले बिरामी, जेष्ठ नागरिक, बालबालिका र इम्युनिटी पावर कम भएका व्यक्तिलाई उपयोगी हुन्छ भनेर उत्पादक कम्पनीले उल्लेख गरेको छ। हङकङका भाइरोलोजिष्ट तथा इम्युनिलोजिष्ट डा. एरिन डेविडसनले भनेका छन् 'यो पुरै भ्रम हो, यसले स्वाश्प्रश्वासजन्य भाइरसबाट सुरक्षा गर्दैन।'

यसको अध्ययन गर्दा मेरो के निष्कर्ष छ भने यसले कोरोना संक्रमण रोक्न कुनैपनि काम गर्दैन। नाक तथा मुखको नजिक राख्दा यसमा भएको क्लोरिन डाइअक्साइड(यसमा प्रयोग हुने)ले आँखा, छाला तथा स्वाश्प्रश्वासमा गम्भीर असर गर्न सक्दछ। क्लोरिन डाइअक्साइड भुँई, टेबुल आदि सफा गर्न प्रयोग गरिन्छ। यसलाई अनुहारको नजिक ल्याउनु हुँदैन। यसलाई भियतनाम लगायतका देशमा प्रतिबन्ध लगाइएको छ। यसको प्रयोग गर्ने व्यक्तिमा फल्स प्रोटेक्सन अर्थात गलत रुपमा सुरक्षित महसुस हुने भएकोले प्रयोगकर्ताले सुरक्षा सतर्कता नअपनाउने खतरा हुन्छ। जसले गर्दा कोरोना संक्रमण सर्ने जोखिम बढ्दछ। कोभिड १९ को कुनैपनि औषधि तथा खोप नभएको समयमा मान्छेको भावनालाई क्यास गर्न बिभिन्न कम्पनीले समयसमयमा ल्याउने उपभोग्य बस्तुमा हामीले विश्वास गरेर प्रयोग गरिहाल्नु हुँदैन।

चीनको कम्पनीले पनि निकालेको यो कार्डको निर्यातकर्ताले नेता तथा सभासदलाई उपलब्ध गराएर निशुल्क रुपमा ठूलो बिज्ञापन गर्न सफल भएको छ। संसद भवन वरिपरी बेच्न राख्नुको अर्थ बुझ्न केहि गाह्रो छैन। यो कार्ड धेरै जनाले लगाएर बन्द कोठाभित्र बैठक गर्दा यसको घनत्व उच्च भएर बैठकमा सहभागी अधिकांश व्यक्तिलाई असर गर्न सक्ने सम्भावना धेरै हुन्छ | तसर्थ बैज्ञानिक पुष्टि र अनुसन्धानबिना यसको प्रयोग नगरौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad