आज (शनिबार) पनि देशका धेरै स्थानमा वर्षा हुने मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १,२, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। यस्तै राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम तथा प्रदेश १, २, बागती तथा गण्डकी र प्रदेश ५का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
‘आज तुलनात्मक रूपमा वर्षा केही कम हुने देखिएको छ,’ मौसमविद् बासीले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘भोलि वर्षा अरू बढ्ने सम्भावना छ।’
महाशाखाका अनुसार अहिले बिहान पनि देशका थोरै स्थानमा वर्षा भइरहेको छ।
तर काठमाडौं उपत्यकामा भने यतिबेला (शनिबार बिहान ६ः३५ बजे) घाम लागिरहेको छ। ‘तर दिउँसो बदली भएर वर्षा हुने सम्भावना छ,’ मौसमविद् बासीले भनिन्।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेकाे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएकाे छ-
देशभर धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
याे पनि: आज दर्जनभन्दा बढी जिल्लाका नदीमा बाढी आउने सम्भावना
बुधबारदेखि देशभर वर्षा व्यापक बनेकाे हाे। देशभर मनसुन सक्रिय हुनाका साथै नेपालकाे दक्षिणी सीमानिजकै मनसुनकाे न्यून चापीय रेखा रहेकाले माैसम बदली र वर्षा बढेकाे माैसमविद्ले बताएका छन्।
माैसमविद् बासीका अनुसार अझै २–३ दिन वर्षा रोकिने सम्भावाा देखिँदैन।

प्रतिक्रिया