कुबेतबाट फर्किएर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा बसेका सात महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा भक्तपुरका सात जनामा संक्रमण भएको जानकारी दिइएको थियो। तर, संक्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टिनमा बसेका महिला रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
संक्रमण पुष्टि हुनेमा मोरङका ४२ र ४१ वर्षीया दुई महिला छन्। त्यस्तै कास्कीकी २३ वर्षीया, नवलपरासीकी २९ वर्षीया, झापाकी २८ वर्षीया, बाराकी २८ वर्षीया र सुर्खेतकी २८ वर्षीया महिला छन्।
शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश १ र २ का एक सय नौ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको थियो।
यसअघि गत बिहीबार खरिपाटी क्वारेन्टिनमा रहेका नवलपुर गैँडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यहाँ रहेका सबैको सोही दिन स्वाब सङ्कलन गरिएको थियो।
यसैबीच गत बिहीबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका प्रहरीको परिवारका सबै सदस्यको स्वाब परीक्षणमा कोरोना नेगेटिभ रिेपोर्ट आएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत सङ्क्रमित प्रहरीको परिवारका आठ जनाको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।
सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका ३० प्रहरी कर्मचारीमध्ये २१ जनाको रिपोर्ट पनि कोरोना नेगेटिभ आएको उनले बताए। परिसरका नौ प्रहरी र भक्तपुर नपा–५ भोलाछेंका सङ्क्रमित पुरुषका परिवार एवं छिमेकी ११ जनाको भने रिपोर्ट आउन बाँकी छ। रासस
Shares

प्रतिक्रिया