आज (आइतबार) पनि देशभर मौसम बदली भएको र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज काठमाडौं उपत्यकासहित देशभर वर्षाको सम्भावना छ। तर देशभर भन्नाले सबै क्षेत्रमा वर्षा हुँदैन।
मौसम पूर्वानुमान महाशाखाका अनुुसार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, तथा कर्णाली प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
‘आज दिउँसोलाई भने भारी वर्षाको सम्भावना कतै देखिएको छैन,’ मौसमविद् कँडेलले भनिन्, ‘राति भने प्रदेश ५, गण्डकी, बागमती र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।’
यसबाहेक राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
माैमसविद् कँडेलका अनुसार अहिले बिहान पनि पूर्व इलामलगायत आसपासका क्षेत्रमा र पश्चिमका केही ठाउँमा पानी परिरहेकाे छ।
Shares

प्रतिक्रिया