कर्णाली प्रदेशमा बिहीबार थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८६ र सुर्खेतका ३४ गरी कूल १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा दैलेखको महावु गाउँपालिकामा मात्र पाँच महिलासहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त गाउँपालिका–२ मा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
डा तिवारीका अनुसार गुराँसे गाउपालिकामा पाँच, भैरवी गाउँपालिकामा एक, चामुण्डा बिन्द्रासैनी र दुल्लु नगरपालिकामा दुई÷दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यसैगरी, सुर्खेत पञ्चपुरी नगरपालिकामा १०, चिङ्गाड गाउँपालिकामा आठ, वीरेन्द्रनगर नगरपालिकामा छ, गुर्भाकोट नगरपालिकामा पाँच, बराहताल र चौकुने गाउँपालिकामा दुई÷दुई र सिम्ता गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएको उनको भनाइ छ।
महाशाखा प्रमुख डा. तिवारीका अनुसार आज १२० जना कोरोना थपिएसँगै अब कर्णालीमा कोरोना सङ्क्रमितहरुको संख्या एक हजार २२४ पुगेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट छ, आइसोलेशन केन्द्र सुर्खेत सालकोटबाट तीन, सिम्ताबाट एक र महाबु आइसोलेशन केन्द्र दैलखबाट एक जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ५०५ पुगेको छ।
बुधबार सिम्ता गाउँपालिका सुर्खेतका एक महिलाको मृत्युपश्चात कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको महाशाखाले जनाएको छ। रासस

प्रतिक्रिया