समाज


महाकाली अस्पतालबाट १३ संक्रमित परीक्षणबिनै डिस्चार्ज

महाकाली अस्पतालबाट १३ संक्रमित परीक्षणबिनै डिस्चार्ज

गोकुल जोशी
असार ३, २०७७ बुधबार १२:४७,

परीक्षण बिना नै महाकाली अस्पतालको आइसोलेसनबाट १३ संक्रमित डिस्चार्ज भएका छन्।

महाकाली अस्पतालले कोरोना संक्रमण मुक्त भएको (नेगेटिभ) नतिजा नआईकनै आइसोलेसनमा भर्ना भएका १३ संक्रमितलाई डिस्चार्ज गरेको हो। बुधबार अस्पतालले स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम १४ दिन कटेका र लक्षण नदेखिएका १३ संक्रमितहरुलाई डिस्चार्ज गरेको अस्पतालका डा. सरोज आचार्यले बताए। यो सँगै महाकाली अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ।

अस्पतालले नयाँ निर्देशिका बमोजिम उनीहरुको नेगेटिभ रिजल्ट कुर्नु नपर्ने देखिएकाले डिस्चार्ज गरिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही जेठ २० गते जारी गरेको कोभिड–१९ केस आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिकामा लक्षण तथा चिन्ह नदेखिएका केसको हकमा आइसोलेसन बसेको १४ दिनपछि छोड्न मिल्ने उल्लेख छ।

अस्पतालका डा. सरोज आचार्यका अनुसार स्वास्थ्य मन्त्रालयको सोही निर्देशिकालाई टेक्दै १४ दिन अस्पतालको आइसोलेसनमा बसिसकेका तर कुनै लक्षण नदेखिएका १३ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

‘स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार १४ दिन कटाएर लक्षण नदेखिएकालाई डिस्चार्ज गरिएको छ’ उनले भने।

अस्पतालको आइसोलेसनमा राखिएपछि पछिल्लो पटक पीसीआर परीक्षण नगरिएको उनले बताए। यसअघि दुई पटक कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरिएको थियो। त्यसो गर्दा लामो समय संक्रमितहरुले आइसोलेसनमा बिताउने गरेका थिए।

संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका विरामीहरुलाई घरमै आइसोलेसन राख्ने नीतिअनुरुप नयाँ निर्देशिका जारी गरेको हो। अस्पतालले बुधबार कञ्चनपुरको लालझाडी–४ का २५ वर्षीय पुरुष, पुनर्वास नगरपालिका–५ का ३३ र ५२ वर्षीय पुरुष, पुनर्वास–९ का २८, ३० र ३६ वर्षीय पुरुष गरी कञ्चनपुरका ६ जना र कैलालीको गौरीगंगा नगरपालिका–४ का १९ देखि ३५ वर्षका ७ जना पुरुष गरी १३ जनालाई कोरोना परीक्षण बिनै अस्पतालबाट डिस्चार्ज गरिएको हो।

कञ्चनपुरका ६ जनालाई जेठ २० गते र कैलालीका ७ जनालाई जेठ २१ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो। १४ दिनसम्म उनीहरुको स्वास्थ्यमा कुनै समस्या नआएपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न डा. आचार्यले बताए। एक साताको होम क्वारेन्टिनमा बस्ने गरी सबैलाई डिस्चार्ज गरिएको उनले बताए। उनी सबै भारतबाट जेठ दोस्रो साता नेपालमा भित्रिएका थिए।

महाकाली अस्पतालको आइसोलसन वार्डमा अब ६ महिला र २७ पुरुष गरी ३३ जना रहेका छन्। गत हप्ता पनि ५ जनालाई कोरोना परीक्षण नगरी डिस्चार्ज गरिएको थियो। योसँगै महाकाली अस्पतालबाट कोरोना परीक्षण नगरी डिस्चार्ज हुनेको संख्या १८ पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad