विश्वभर कोरोना भाइरसविरुद्ध खोपको व्यापक खोजी भइरहेका बेला केही वैज्ञानिकले भने पोलियोविरुद्ध खुवाइने औषधि नै यसको प्रभावकारी खाेप बन्न सक्ने देखिएकाे बताएका छन्।
पोलियो विरुद्धको खोपले बालबालिकालाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन सक्ने यथेष्ट प्रमाण भेटिएको ती वैज्ञानिकको दाबी छ।
वैज्ञानिकको एक समूहले साइन्स म्यागजिनमा आलेख प्रकाशन गराउँदै पोलियो खोप कोरोना भाइरसविरुद्ध पनि प्रभावकारी हुन सक्ने उल्लेख गरेका छन्।
थोपाका रूपमा खुवाइने पोलियोविरुद्धको खोप सुरक्षित, सस्तो र सजिलो पनि हुने उनीहरूको भनाइ छ। विश्वमा अहिले यो खोप हरेक वर्ष १ अर्ब डोज उत्पादन हुने गरेको छ भने नेपालसहित १ सय ४० भन्दा बढी देशमा खुवाइने गरेको छ।
अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनका खोप विज्ञ तथा एचआईभी पत्ता लगाउने विज्ञ मिलेर यो खोपले कोरोना भाइरसविरुद्ध पनि प्रभावकारी काम गर्ने सुझावसहितको लेख लेखेका हुन्।
एफडीएका कोन्स्टेनटिन चमाकोभ र मेरिल्यान्ड युनिभर्सिटीको स्कुल अफ मेडिसिनअन्तर्गत इन्स्टिच्युट अफ ह्युमन भाइरोलोजीका डा. रोबर्ट गालोसहितको टोलीले कोरोना भाइरसविरुद्ध पोलियोलगायत चलनमै रहेका खोप नै प्रभावकारी हुन सक्ने निष्कर्ष निकालेकाे हो।
पोलियो र कोभिड-१९ गराउने दुवै पोजेटिभ-स्ट्यान्डर्ड आरएनए भाइरस रहेकाले पोलियोविरुद्धको ओपीभी (ओरल पोलियोभाइरस भ्याक्सिन) प्रभावकारी हुन सक्ने टोलीको भनाइ छ।
पोलियो खोपले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने भएकाले कोरोनाको संक्रमण हुन नदिन कम्तीमा अस्थायी रूपमा काम गर्ने आलेखमा उल्लेख गरिएको छ।
पोलियोविद्धको खोपले सम्बन्धित रोगको भाइरसबाट मात्रै नभएर अन्य भाइरसबाट बचाउन सक्ने तथा कोरोनाको प्रकृति पोलियो भाइरससँग मिल्ने भएकाले विकल्पका रूपमा प्रयोग गर्न सकिने आलेखमा सुझाव दिइएको छ।
Shares

प्रतिक्रिया