स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार १५ पछि दैनिक १० हजार पीसीआर परीक्षण गरिने जनाएको छ।
पीसीआर परीक्षण दर कम भयो भन्ने आवाज उठिरहेका बेला मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले उक्त कुरा बताएका हुन।
'हामीले पीसीआर परीक्षण दयरा बढाउँदै लगेका छौं। असार १५ सम्ममा दैनिक १० हजार परीक्षण गर्नेछौं,' प्रवक्ता गौतमले भने, 'भीडभाडले संक्रमित बढ्दै गए यो संख्या अपुग हुनसक्छ। जुलिसमा सामाजिक दूरी कायम नहुने, नारा लगाउँदा कोरोना भाइरस धेरै निस्कने हुँदा धेरै जना संक्रमित हुनसक्ने र खतरा हुनसक्छ।'
पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको उनले जनाए। हालसम्म मन्त्रालयले १ लाख २७ हजार २ सय नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म स्वास्थ्य मन्त्रालयले कोरोना प्रतिकार्य तथा व्यवस्थापनका लागि २ अर्ब ७२ करोड २९ लाख रुपैयाँ निकासा प्राप्त गरेको बताउँदै गौतमले जसमध्ये १ अर्ब ५८ करोड ५२ लाख खर्च भएको र त्यसको विस्तृत विवरण मन्त्रालयसँग सुरक्षित रहेको बताए।

प्रतिक्रिया