ad ad

समाज


लकडाउनमा आपराधिक घटनामा कमी, यस्तो छ अपराधको ग्राफ

लकडाउनमा आपराधिक घटनामा कमी, यस्तो छ अपराधको ग्राफ

नारायण ढुंगाना
जेठ २९, २०७७ बिहिबार ११:४८,

मुलुकमा विगत वर्षको तुलनामा बन्दाबन्दीको समयमा आपराधिक घटनामा कमी आएको छ।

नेपाल प्रहरीका अनुसार लकडाउनले गर्दा झण्डै ६० प्रतिशत आपराधिक घटना घटेको छ। तथ्यांकमा आत्महत्याका घटनामा समेत विगतको वर्षहरुमा भन्दा कमी आएको देखिएको छ।

प्रहरीले केही कत्र्तव्य ज्यान तथा भवितव्यका घटना तथा घरभित्र हुने अपराध र जबर्जस्ती करणीका घटना घटेका जनाएको छ। रुकुमको सोती र रुपन्देहीको गाई फार्ममा गम्भीर प्रकृतिको घटना भएका छन्। यी लगायतका घटनाहरुमाथि गम्भीर रुपमा छानविन गरी दोषीलाई कानूनी कारवाही गर्ने सरकारले यसअघि नै प्रतिबद्धता जनाइसकेको छ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले तुलनात्मक रुपमा हेर्दा आपराधिक घटनामा विगतको भन्दा निक्कै कम देखिएको र आत्महत्याका घटनामा समेत कमी आएको बताए। उनका अनुसार विवरण विश्लेषण गर्दा करीब १४ प्रतिशतले आत्महत्यामा कमी आएको देखिएको छ।

गुह मन्त्रालयबाट प्राप्त विवरण अनुसार चालु आवको पछिल्लो तीन महिना (चैत, वैशाख, जेठ) मा २२१ वटा चोरीका घटना भएका छन्। यो सङ्ख्या गत आवको सोही अवधिमा ७११ थियो। संगठित तथा आर्थिक अपराधतर्फ गत आवको पछिल्लो तीन महिनामा एक हजार ३१९ घटना भएका थिए। चालु आवको सोही अवधिमा ५०३ पुग्यो। यस्तै महिला, बालबालिकासम्बन्धीको अपराधमा गत आवको पछिल्लो तीन महिनामा एक हजार २१८ वटा घटना भएकामा चालु आवको सोही अवधिमा ६०० घटना भए।

सामाजिक अपराध गत आवको पछिल्लो तीन महनिामा तीन हजार ५३२ वटा भए भने चालु आवमा ९२३ घटना मात्रै भएका छन्। सवारी सम्बन्धीमा अपराध गत आवको पछिल्लो तीन महिनामा ७०५ थियो चालु आवको सोही अवधिमा २०७ वटा मात्रै भए। विवरणमा चालु आवको जेठ १५ सम्मको घटनालाई मात्र समेटिएको छ।

आत्महत्यामा कमी
आत्महत्या बढ्यो भनेर विवरणहरु बाहिर आएपछि गृह मन्त्रालयका अधिकारी र सुरक्षा अधिकारीबीच बुधबार बैठक समिक्षा गरिएको थियो। उक्त बैठकले केही छिटफुट गम्भीर प्रकृतिका घटना भए पनि समग्रमा आपराधिक घटनामा कमी आएको निष्कर्ष निकालेकोे छ। आत्महत्याका घटना समेत विगतको भन्दा कमी नै रहेको बैठकको निष्कर्ष छ।

प्राप्त विवरण अनुसार गत आवको चैत, वैशाख र जेठको तुलनामा चालु आवको सोही अवधि ३२८ ले आत्महत्यामा कमी आएको देखिएको छ। यद्यपि, यसमा चालु आवको जेठ १५ सम्मको मात्रै घटना समेटिएको छ। पन्ध्र दिनमा यति धेरै घटना नहुने प्रहरीको भनाइ छ। कतिपय घटनाहरु सामाजिक चेतना र प्रहरीको सक्रियताले पनि बाहिर आउने गरेका छन्।

चालु आवको चैत, वैशाख र जेठमा कोभिड–१९ का कारण सरकारले लकडाउनको आदेश जारी गरेको थियो। सोही अवधिको अभिलेख विश्लेषण गर्दा बन्दाबन्दी कै कारण आत्महत्या बढेको अभिलेखले नदेखाउने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही बताउँछन्। उनका अनुसार औसत विवरण विगतको भन्दा केही कम देखिन्छ। कतिपय आत्महत्या बन्दाबन्दीसँग जोडिएको हुनसक्ने भए पनि त्यसरी अध्ययन नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तथ्यांकमा झुण्डिएर आत्महत्या गरेका घटना भने निक्कै बढी देखिन्छन्।

आव २०७५/७६ को चैत, वैशाख र जेठमा एक हजार ६६७ आत्महत्याका घटना भएको अभिलेख छ। त्यसमा झुण्डिएर मात्रै एक हजार २०० जनाको मृत्यु भएको थियो। विष खाएर ३५८ जनाको ज्यान गएको छ। चैतमा ४६९, वैशाखमा ५९७ र जेठमा ६०१ जनाले आत्महत्या गरेका थिए। वर्षमा कुल पाँच हजार ७५४ घटना भएकामध्ये झुण्डिएर मात्रै चार हजार ३१२ ले आत्महत्या गरे।

चालु आवको चैत, वैशाख र जेठ १५ सम्मको अभिलेख अनुसार एक हजार ३३९ जनाले आत्महत्या गरेका छन्। यसमा १५ दिनको घटना आउन बाँकी छ। त्यसमध्ये एक हजार १३० जनाले झुडिएर आत्महत्या गरेका छन्। चालु आवको चैतमा ४८३, वैशाखमा ५७७ र जेठमा २७९ जनाको मृत्यु भएको थियो। चालु आवको जेठ १५ सम्म चार हजार ५८३ वटा आत्महत्याका घटना भएकामा झुण्डिएका मात्रै तीन हजार ६९० रहेको छ।

आव २०७४/७५ को चैत, वैशाख र जेठमा आत्महत्याका एक हजार ४४७ घटना भएको थियो। यो चालु आवको तीन महिनाको सङ्ख्या भन्दा १०९ ले बढी हो। सबैभन्दा बढी झुण्डिएर एक हजार ७१ जनाले आत्महत्या गरेका छन्। विष खाएर ३५५ जनाको मृत्यु भएको छ।

सोही आवको चैतमा ४५६, वैशाखमा ५०३ र जेठमा ४८८ आत्महत्याका घटना भएका थिए। सोही आवमा कुल पाँच हजार ३१७ जनाले आत्महत्या गरेकामा झुण्डिएर मात्रै तीन हजार ८६७ जनाले मृत्युवरण गरे। अन्यले आगो लगाएर, करेन्ट लगाएर, पानीमा हाम्फालेर, तथा हातहतियारको प्रयोग गरेर आत्महत्या गरेका थिए।

नेपाल प्रहरीका प्रवक्ता शाही विगतको वर्षको तुलनामा यो वर्ष आत्महत्याको दर बढेको भने नदेखिने बताउँछन्। ‘दुई वर्षको तुलना गर्दा लकडाउन कै कारण मात्र आत्महत्या बढेको भन्ने तथ्यले देखाउँदैन, विगतको तुलनामा अझै केही कमी आएको छ, बढेको छैन,’ शाहीले रासससँग भने।

उनका अनुसार लकडाउनका कारण आपराधिक घटना भने ६० प्रतिशतले कमी आएको छ। जबर्जस्ती करणी तथा घरेलु हिंसाका घटना भने देखिएका छन्। त्यो प्रहरी र समुदायको सक्रियताले बाहिर आएको उनी ठान्छन्।। केही कर्तव्य ज्यान तथा भवितव्यका घटना समेत यो अवधिमा घटेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .