ad ad

समाज


कर्णाली प्रदेशसभाका सभामुख शाहीले पत्रकारको चरित्र हत्या गर्न खोजेः महासंघ

कर्णाली प्रदेशसभाका सभामुख शाहीले पत्रकारको चरित्र हत्या गर्न खोजेः महासंघ

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ८:४९,

नेपाल पत्रकार महासंघले महासंघका पूर्व कोषाध्यक्ष एवं सुर्खेतबाट प्रकाशित हुने कर्णालीपत्र दैनिकका प्रधानसम्पादक सूर्यमणि गौतमको नाम जोडेर विभिन्न अनलाइनमा प्रकाशित समाचारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गौतमका अनुसार उनीसम्बद्ध पत्रिकाको अनलाइन संस्करणमा ‘सभामुखको लागि नियमविपरीत गाडी खरिद’ सँग सम्बन्धित समाचारको विषयलाई लिएर कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको निर्देशनमा व्यक्तिगत चरित्रहत्या हुने गरी समाचार प्रकाशित भएका छन्।

‘जनप्रतिनिधिमूलक संस्थाको प्रमुखजस्तो पदमा बसेको पदाधिकारीबाट त्यस्तो हुनु विडम्बना हो। यसबाट आगामी दिनमा स्वतन्त्र रुपमा समाचार प्रकाशनरप्रशारण गर्न पत्रकार र सञ्चार माध्यमलाई हतोत्साही गर्ने निश्चित छ’ महासंघले भनेको छ, ‘महासंघ प्रेस स्वतन्त्रता र पत्रकारिताका मूल्य, मान्यताप्रति प्रतिवद्ध हुन सम्बन्धित पक्षलाई सचेत गराउन चाहन्छ।’

गाडी खरिदको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको सञ्चार माध्यमबाट सार्वजनिक भइसकेको सन्दर्भमा यसको वास्तविकता आधिकारिक निकायबाटै परीक्षण हुनेमा महासंघ विश्वास प्रकट गरेको छ।

यसैगरी समाचारको विषयलाई लिएर कैलाली जिल्लामा कार्यरत पत्रकार टंकप्रसाद कडेललाई घाडाघोडी नगरपालिका –१ का स्थानीय व्यापारी होमप्रसाद आचार्यले फोनबाट धम्क्याएको घटनाप्रति पनि महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

त्यस्तै, महासंघ स्याङ्जा शाखाका सदस्य तथा नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार भूपराज बस्याललाई गल्याङका स्वास्थ्य शाखा प्रमुखले गरेको आत्महत्याको विषयमा उनी आवद्ध पत्रिकामा प्रकाशित समाचारलाई लिएर स्थानीय प्रशासनले प्रहरीमार्फत जिल्ला प्रशासन कार्यालय उपस्थित गराई सोधपुछ गरेको घटनाप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई हतोत्साहित बनाउने गरी सोधपुछ गरिनु निन्दनीय काम हो भन्दै महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्न र निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .