ad ad

समाज


गण्डकी प्रदेशमा थपिए संक्रमित, संख्या १४५ पुग्यो

गण्डकी प्रदेशमा थपिए संक्रमित, संख्या १४५ पुग्यो

नेपालखबर
जेठ २८, २०७७ बुधबार ३:४,

 गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक सय ४५ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार बुधबार बिहान थप एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक सय ४५ पुगेको हो।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिकाका ४० का पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि स्थापना गरिएको उच्चस्तरीय समितिका प्रवक्ता डा.विनोदविन्दु शर्माले बुधबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हाल नगरपालिकाकै आइसोलेसनमा रहेका सङ्क्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

गण्डकी प्रदेशका सङ्क्रमितमध्ये १३९ पुरुष र छ जना महिला छन्। हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन्।

स्याङ्जामा ३८, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३५, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँ र म्याग्दीमा तीनरतीन तथा लमजुङमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भइसकेको छ। गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो। सङ्क्रमितमध्ये तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कास्कीमा पहिलोपटक कोभिड–१९ पुष्टि भएका ६० वर्षीय एक पुरुषको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

गत जेठ २० गते पोखरास्थित आफ्नै निवासमा अचेत अवस्थामा फेला परेका ती पुरुषलाई यहाँस्थित गण्डकी मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि हेलिकोप्टरबाट काठमाडौँ लगिएकामा राजधानीमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।

पेशाले कानून व्यवसायी तथा प्राध्यापक रहेका सङ्क्रमितलाई अस्पताल लैजाँदा उनको सम्पर्कमा पोखराका धेरै प्रतिष्ठित व्यक्तिसमेत पुगेको र पछि उनमा कोभिड–१९ पुष्टि भएपछि त्रास फैलिएको थियो।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा प्रदेश स्वास्थ्य निर्देशनालयले सङ्क्रमितको कन्टयाक्ट ट्रेसिङ गरी ३९ को पिसीआर परीक्षण गरेकामा मङ्गलबार साँझ सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .