समाज


राजदूत भन्छन्ः फर्किने सबैको कोरोना परीक्षण सम्भव छैन, नियमित उडान सुरु गरौँ

राजदूत भन्छन्ः फर्किने सबैको कोरोना परीक्षण सम्भव छैन, नियमित उडान सुरु गरौँ

उजिर कार्की
जेठ २३, २०७७ शुक्रबार १०:२७,

नेपालका प्रमुख रोजगार गन्तव्य मुलुकबाट सरकारले नेपालीहरुलाई फर्काउने प्रक्रिया सुरु गरेको छ। तर, स्वदेश फर्किने तयारीमा रहेका सबैलाई त्यहीँ कोरोना परीक्षण गर्न नसकिने सम्बन्धित मुलुकस्थित नेपाली राजदूतहरुले बताएका छन्।

सरकारले फर्किने नागरिकसँग एक हप्ताभित्रको कोरोना परीक्षण गरेको रिपोर्ट हुनु पर्ने भने पनि त्यो सम्भव नरहेको राजदूतहरुको भनाइ छ।

श्रम रोजगार पत्रकार समूहले गरेको अनलाइन कन्फ्रेन्समा कतार, साउदी अरब र मलेसियास्थित राजदूहरुले नेपालीलाई फर्काउन भइरहेको तयारी र समस्याबारे जानकारी गराएका छन्।

साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले साउदीबाट फर्किन १० हजार बढीले आवेदन दिएको बताए।

साउदीमा करिब सवा ३ लाख नेपाली कार्यरत छन्। यीमध्ये फर्किन चाहनेको संख्या ठूलो रहेकाले प्राथमिकताका आधारमा पठाउने बताए। तर त्यसका लागि सरकारले १० दिन पहिले नै जानकारी दिनु पर्ने राजदूत राजपुतको भनाइ छ।

‘साउदीबाट कति जनालाई फर्काउने हो, त्यो जानकारी १० दिन पहिले सरकारले हामीलाई दिनुपर्छ। हामी त्यही अनुसारको सूची बनाउँछौं,’ राजदूत राजपुतले भने, ‘होइन भने पछि समस्या आउन सक्छ।’

फर्किन चाहनेको संख्या दैनिक थपिइरहेको उनले बताए। सरकरले जति नागरिक लैजाने हो त्यही अनुसारको सूची दूतावासले तयार गरिरहेको उनको भनाइ छ।

संक्रमण घटेसँगै मलेसियाबाट फर्किन चाहने नेपालीको संख्या घट्दै
पछिल्लो समय नेपालमा संक्रमणको संख्या बढ्दै जाँदा मलेसियाबाट फर्किन चाहने नेपालीको संख्या भने कम हुन थालेको छ। पहिले नेपाल फर्किन पाऊँ भन्दै निवेदन दिएकाहरुले अहिले यतै रोजगारी भए बस्थें भन्न थालेको त्यहाँस्थित नेपाली राजदूत उदयराज पाण्डेले बताए।

उनका अनुसार पछिल्ला दिनमा मलेसियामा संक्रमणदर घट्दो क्रममा छ।

जसका कारण नेपालीले भिसा र श्रम स्वीकृतिको म्याद थप गर्ने व्यवस्था गरिदिन आग्रह गर्न थालेका छन्। हालसम्म त्यहाँबाट ६ हजार ३ सय ४३ जनाले घर फर्किन आवेदन दिएका छन्। यीमध्ये गर्भवती, सुत्केरी तथा गम्भीर प्रकारका बिरामी २ सय १ जना छन्। यस्तै करार सम्झौता सकिएका ३ हजार ६ सय ७५ जना, कम्पनी बन्द हुँदा रोजगारी गुमाएका १ हजार ३६ जना र राजीनामा दिएर फर्किन चाहेको बताउने ९ सय २२ जना छन्। छुट्टीमा घर जान चाहने १०५ जना रहेको राजदूत पाण्डेले बताए।

फर्किन चाहनोहरुले आफ्नो निर्णयमा पुनर्विचार गर्न थालेपछि दूतावासले आवेदन दिएकाहरुसँग पुनः सोध्न थालेको छ। दूतावासले पनि सकेसम्म तत्काल नेपाल नफर्किन भनिरहेको छ।

अहिले सरकारले चार्टर्ड उडानमा फर्काउने भने पनि राजदूतहरुले भने व्यावसायिक उडान खुला गर्न आग्रह गरेका छन्।

कोरोना महामारीपहिले मलेसियाबाट काठमाडौँसम्म दैनिक ४ वटा उडान हुने गरेको थियो। व्यावसायिक उडान गर्न दिए फर्किन चाहनेले सहजै टिकट पाउने र राज्यलाई पनि भार नपर्ने राजदूत पाण्डेले बताए। मलेसियाका घरफिर्ती केन्द्रमा मात्रै २ सय ४६ जना नेपाली छन्। उनीहरुलाई जुनसुकै बेला त्यहाँको सरकारले फर्काउन भन्न सक्छ।

सबैको कोरोना परीक्षण सम्भव छैन
कतारका लागि नेपाली राजदुत डा. नारदनाथ भारद्वाजले सरकारले कति नेपालीलाई फर्काउने भन्ने संख्या नतोक्दा सूची तयार गर्न नसकिएको बताए। यस्तै फर्किने सबैको स्वास्थ्य परीक्षण गर्नु पर्ने भने पनि कतारमा त्यो सम्भव नरहेको उनले बताए।

भारत लगायत अरु देशले पनि स्वास्थ्य परीक्षण नगरी नै आफ्ना नागरिक फर्काएकाले नेपालीको कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गर्न नसकिने राजदूत भारद्वाजले बताए।

कतारबाट करिब ७ हजारले फर्किन निवेदन दिएका छन्। तीमध्ये केहीलाई कम्पनीले नै फर्काइदिने भनेको छ। सरकारले प्राथमिकता अनुसार फर्काउने निर्णय गरे पनि त्यहाँका कम्पनीले आफ्नो कामदारको टिकट काटिदिएका उनीहरु नै पहिले आउने अवस्था देखिएको छ।

फर्किन चाहेकामध्ये केहीको पहिले नै टिकट तयार रहेकाले अब चार्टर्ड उडानमा रकम थप्न नमान्ने राजदूत भारद्वाजले बताए। कतारस्थित नेपाली दूतावासले सरकारलाई व्यावसायिक उडान खुल्ला गरिदिन आग्रह गरिसकेको छ।

यस्तै, नेपाली लिएर आउने विमानलाई ट्रान्जिट उडान गर्न दिनु पर्ने उनीहरुको सर्त छ। त्यसो भए टिकटको लागत घट्ने छ। कतारमा पनि पछिल्लो समय कोरोना संक्रमणको अवस्था कम हुँदै गएको उनले बताए।

कोरोना परीक्षण त्यहाँका सरकारी अस्पतालले गरिरहेकाले सबैलाई पहुँच नभएको राजदूत भारद्वाजले बताए। त्यहाँका अस्पतालले बिरामीको मात्रै कोरोना परीक्षण गर्छन्। कसको गर्ने र कसको नगर्ने भन्ने निर्णय उनीहरुको हातमा हुन्छ।

त्यहाँ साढे तीन लाख नेपाली कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .