समाज


आरडिटीमा काेराेना पोजेटिभ देखिएका चार जनालाई क्वारेन्टाइनबाट गाईगोठमा सारियो

आरडिटीमा काेराेना पोजेटिभ देखिएका चार जनालाई क्वारेन्टाइनबाट गाईगोठमा सारियो

नेपालखबर
जेठ १९, २०७७ सोमबार ४:५,

दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका चार जनाको आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टिनबाट गाईबस्तु बाँध्ने गोठमा सारिएको छ।

संक्रमितलाई गोठमा सारिँदा स्थानीय सरकारप्रति नै प्रश्न चिह्न खडा भएको छ। गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो।

आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर तत्कालका लागि नजिकैको गोठमा सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।

तत्काल कुनै वैकल्पिक व्यवस्था नभएकाले सावधानीका लागि गोठ सुरक्षित देखिएकाले त्यहाँ सारिएको उनले बताए। ‘यद्यपि हामीले उनीहरुलाई गाउँपालिकाको कार्यालय नजिकै एकजनाको घर भाडामा लिएर व्यवस्थापन गर्न लागेका छौँ,’ उनले भने।

‘भारतबाट आएका सयौँ दाजुभाइलाई क्वारेन्टिनमा राख्दा हाम्रा सबै सामुदायिक भवन भरिभराउ भइसके’, उनले भने, ‘बाध्य भएर कोरोना सङ्क्रमण अरूलाई नफैलियोस् भनेर उहाँहरुलाई तत्कालका लागि गोठमा राखेका हौँ।’

गोठमा राखिएकाहरुको तस्बिर सामाजिक सञ्जालमा राखेर थप पीडा थप्ने काम गरिएको उनले गुनासो गरे। ‘हामीले सक्दो प्रयास गरेकै छौँ। बाहिरबाट आउनेलाई व्यवस्थापनमा हामी लागिरहेकै छौँ’, अध्यक्ष बुढाले भने, ‘आरडिटी परीक्षणमा पोजेटिभ देखिएकालाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचारको व्यवस्थापन भइरहेको छ। पिसिआर परीक्षणका लागि स्वाब सङ्कलनको काम पनि गरेका छौँ।’

यसैबीच दैलेखको एकमात्र सुविधा सम्पन्न जिल्ला अस्पतालको एमर्जेन्सी वार्ड एक साताका लागि सिल गरिएको छ। कोरोना पोजेटिभ भएका एक युवा झुक्याएर इमर्जेन्सी वार्डमा भर्ना भएपछि कोरोना नियन्त्रण तथा रोकथाम समितिको आकस्मिक बैठक बसी एक साता सेवा बन्द गर्ने निर्णय गरेको हो।

जिल्लाको महावु गाउँपालिकाका ती युवा भारतबाट नआएको झुटो रिपोर्ट दिँदै शनिबार अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए। उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकाले एक साता सेवा बन्द गर्ने निर्णय भएको जिल्ला कोरोना नियन्त्रण तथा रोकथाम समितिका संयोजक इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

मधुमेह रोगी ती युवा दिनभर त्यस वार्डमा उपचारका लागि बसेको हुँदा अन्य बिरामी तथा स्वास्थ्यकर्मीलाई सङ्क्रमण नहोस् भनेर इमर्जेन्सी वार्ड बन्द गरिएको हो। यद्यपि सर्वसाधारणका लागि अन्य वार्डमार्फत सेवा दिन वैकल्पिक व्यवस्था गरिएको छ।

ती युवाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टिनमा राखिएको छ। ती युवालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad