तीन दिनमै निको भएकी मकवानपुरकी २५ वर्षीया गर्भवतीले कोरोना भाइरसको संक्रमण जित्न आत्मबल बलियो बनाउनुपर्ने बताएकी छन्।
पाँच महिनाको गर्भ रहेकी उनलाई जेठ १५ गते कोरोना पुष्टि भएको थियो। त्यसपछि भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी उनी जेठ १८ गते नै डिस्चार्ज भएकी हुन्।
अस्पतालबाट घर फर्कने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन्, ‘कोरोना संक्रमण हुनु भनेको सामान्य रुघाखोकी लाग्नु हो भन्ने सोचेर आत्मबल बलियो बनाउनुस् निको हुन्छ।’
आफूलाई कोरोना संक्रमण भएको महसुस नै नभएको बताउँदै उनले आफूलाई कसरी भयो भन्ने कुराचाहिँ अन्योल रहेको प्रतिक्रिया दिइन्।
आफूहरू लकडाउनका बेला र त्यसअघि पनि खासै कतै नगएको भए पनि कोरोना संक्रमण देखिएको उनको भनाइ छ। तर पनि त्यसलाई जित्न सफल भएको उनले बताइन्।
कोरोना संक्रमणले मान्छे मरिहाल्छ भन्ने नभएको उनको अनुभव छ। उनले भनिन्, ‘कोरोना लाग्नेबित्तिकै मान्छे मरिहाल्ने भन्ने होइन। म गर्भवती हुँदा त तीन-चार दिनमै निको भएँ। तपाईंहरू पनि आत्तिनु पर्दैन, तातोपानी खाने र आत्मविश्वास बढाए सञ्चो भइन्छ।’
कोरोना संक्रमण देखिए पनि आत्मबल बढाएर चिकित्सकको सल्लाहबमोजिमका क्रियाकलाप गरे यसलाई जित्न सहज हुने उनले बताइन्।
पछिल्लो नतिजा नेगेटिभ आएपछि उनलाई आइतबार बिदाइ गरिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। बिदाइ गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले कोरोना संक्रमण निको भए पनि थप १४ दिन घरमै सुरक्षित बस्न आग्रह गरेका छन्। समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि उनले सुझाव दिएका छन्।
सोही क्रममा अस्पतालका प्रसूति विभाग प्रमुख डा. सुनिलमणि पोखरेलले गर्भवती भएको समयमा कोरोना देखिए बच्चामा असर नपर्ने भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन्। भरतपुर अस्पतालमा यसअघि पूर्वी चितवनको राप्ती नगरपालिकाका आमा छोरा पनि कोरोनालाई जितेर घर फर्किसकेका छन्।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अब भरतपुर अस्पतालमा २ र भरतपुर कोरोना विशेष अस्पतालमा ४ संक्रमित छन्। रासस

प्रतिक्रिया