समाज


देशभर २२ हजार सामुदायिक वन, २२ लाख हेक्टर व्यवस्थापन

देशभर २२ हजार सामुदायिक वन, २२ लाख हेक्टर व्यवस्थापन

नेपालखबर
जेठ १८, २०७७ आइतबार १३:३१,

सामुदायिक वन उपभोक्ता समूहको वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा उपभोक्ता समूहको क्षमता र नेतृत्व विकास गर्ने लक्ष्यसहित स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल २५औँ वर्षमा प्रवेश गरेको छ। विसं २०५२ जेठ १८ गते स्थापना भएको महासंघ मुलुकभर रहेका सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिमूलक छाता संगठन हो।

महासंघले स्थापनापश्चात् २५ वर्षको अवधिमा छ राष्ट्रिय महाधिवेशन, एक विशेष महाधिवेशन र सात राष्ट्रिय परिषद् सम्पन्न गर्दै राज्य पुनःसंरचनाअनुसार सङ्गठनलाई संघ, प्रदेश, जिल्ला र स्थानीयस्तरमा विस्तार र सुदृढ गर्दै आएको जनाएको छ। यस २५ वर्षको अवधिमा महासंघले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजका रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको महासंघका अध्यक्ष भारती पाठकले बताए।

मुलुकभर २२ हजार २६६ सामुदायिक वन हस्तान्तरण भएका र त्यसमा २९ लाख सात हजार ८७१ घरधुरीले २२ लाख ३७ हजार ६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन्। सामुदायिक वनको भावना र मर्मअनुसार वन व्यवस्थापन कार्यक्रम स्थानीय उपभोक्ताहरुको सक्रिय सहभागितामा प्रभावकारी देखिएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको सामुदायिक वन एक सिकाइ केन्द्रका रुपमा स्थापित भएको छ।

महासंघले स्थापना भएदेखि वन क्षेत्रको संरक्षणका साथै एक सशक्त नागरिक संगठनका रुपमा स्थापित भएको र गाउँ तहदेखि, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा सञ्जाल रहेको महासंघले जनाएको छ। महासंघले ५० प्रतिशत महिला सहभागिताका लागि विधानमै व्यवस्था गरेर लागू गरेको र दलित, जनजाति, गरिब, विपन्न वर्ग तथा क्षेत्रगत प्रतिनिधित्वको व्यवस्था विधानमै गरेर महिला सहभागिता र समावेशीकरणको मुद्दा व्यवहारमा कार्यान्वयन गरेको अध्यक्ष पाठकले बताए।

महासंघले विशेष गरी समुदायमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, महिला सशक्तीकरण, गरिब विपन्न वर्गको जीविकोपार्जनमा सहयोगलगायतका विषयमा सामुदायिक वन उपभोक्ता समूहलाई सहजीकरण गर्ने र अभियान सञ्चालन गर्ने गर्दै आएको छ। स्थापनाको रजत जयन्ती मनाउने क्रममा महासंघले पत्रकार सम्मेलन, उपभोक्ताहरुले घरघरमा दीप प्रज्वलन, सबै उपभोक्ता र महासंघका पदाधिकारीहरुले करेसाबारी तथा बारीमा कम्तीमा एक बिरुवा अनिवार्य रोप्नेलगायतका कार्यक्रम गरेको अध्यक्ष पाठकले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad