समाज


धनुषाको जटही नाकामा भोकका कारण मृत्यु भएको भनिएका युवकमा देखिएन कोरोना

धनुषाको जटही नाकामा भोकका कारण मृत्यु भएको भनिएका युवकमा देखिएन कोरोना

शैलेन्द्र महतो
जेठ १६, २०७७ शुक्रबार ७:५५,

भारतबाट फर्किने क्रममा धनुषाको जटही नाकामा बुधबार मृत्यु भएका युवकमा कोरोना नभएको पाइएको छ।

बुधबार बिहान जटही नकामा धनुषाको सहिदनगर नगरपालिका ९ का ३० वर्षीय वीरेन्द्र यादवको मृत्यु भएको थियो। उनको कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नेपालखबरलाई जानकारी दिए।

यादव घर आउने क्रममा भाकै ६ दिन पैदल हिँड्दै आएका थिए। उनका सहकर्मीहरुका अनुसार मंगलबार राति भारतीय प्रशासनले ट्रकमा चढाएर उनीसहित झण्डै डेढ सय नेपालीलाई जटही बोर्डरमा छाडेका थिए।

बिहान सशस्त्र प्रहरीले च्युरा चाउचाउ खुवाउँदा तत्कालै वान्ता भई यादवको जटही नाकामै मृत्यु भएको थियो।

मृत्युपछि प्रशासनले कोरोना परीक्षण गर्न जटही नाकाबाट उनको शव नेपाली सेनाले प्रादेशिक अस्पताल जनकपुरमा ल्याई स्वाब नमूना लिइएको थियो।

उनको अकस्मात भोककै कारण मृत्यु भएको भन्दै उनीसँगै सीममा रहेका दुई सयभन्दा बढी नेपाली नागरिकले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

चार महिनाअघि मजदुरी गर्न उनी भारतको गुजरात पुगेका थिए। कोरोना महामारीको कारण भारतमा समेत लकडाउन भएपछि उनी सहकर्मीसँगै पैदल हिड्दै घर फर्किरहेका थिए।

यता वीरेन्द्रको मृत्युपछि सहिदनगर नगरपालिकाले क्रिया खर्च स्वरुप उनको परिवारलाई एक लाख रुपैयाँ दिने बताएको छ। क्रिया खर्च स्वरुप एक लाख रुपैयाँ नगरपालिबाट दिने निर्णय भएको नगरप्रमुख उदयकुमार बरबरियाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .