कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ।
ललितपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको ज्यान गएको हो।
उनी ललितपुरको बुङमतीका बासिन्दा हुन्।
जेठ ११ गते उनी सो अस्पताल भर्ना भएका थिए। १२ गते उनको स्वाब परीक्षणका लागि पठाइएको थियो।
आज १४ गते साँझ उनको मृत्यु भएको हो। मृत्युलगत्तै आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालालाई उधृत गर्दै ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जनाए।
उनी ‘अल्कोहलिक लिभर डिजिज’का कारण अस्पताल भर्ना भएका थिए।
सोही निर्वाचन क्षेत्रकी सांसद पम्फा भुसालले पनि एक जनाको मृत्यु भएको पुष्टि गरिन्। उनले सामाजिक सञ्जालमा मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेकी छन्।
यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ।
बुधबार साँझसम्म संक्रमितको संख्या भने ९ सय १ पुगेको छ। बुधबार मात्रै एकैदिन १ सय २९ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया