राजनीति


‘काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणमा लकडाउनले असर गर्दैन’

‘काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणमा लकडाउनले असर गर्दैन’

नेपालखबर
जेठ १४, २०७७ बुधबार १५:४९,

नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ।

कोभिड १९ को जोखिम नियन्त्रणमा भइरहेको प्रयास र राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी दिन नेपाली सेनाद्वारा आज यहाँ आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोभिड–१९ नियन्त्रणका लागि सरोकारवालाबीच राष्ट्रिय एक्यबद्धता आवश्यक रहेको जानकारी दिइयो।

कोभिड–१९ को संक्रमण अहिलेसम्म काबु बाहिर नरहेको बताउँदै सेनानी नवीन फुयालले सम्भावित संक्रमित व्यक्तिको सहि पहिचान र परीक्षण गरिएकाले थोरै परीक्षणबाट पनि धेरै सङ्क्रमित फेला परेको हो भने।

उनले भने, ‘परीक्षणको दायरालाई ठीक ढंगबाट अघि बढाइएको छ, अहिलेसम्म संक्रमण काबु बाहिर गएको छैन, आगामी दिनमा बढ्न सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी परीक्षण विस्तार लगायतका तयारी गरिएको छ।’

सरकारले यसअघि नै परीक्षणको दायरा बढाएर कूल जनसंख्याको दुई प्रतिशत पुर्‍याउने घोषणा गरिसकेको छ।

यसैबीच, सेनाले काठमाडौं, तराई मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्रै पूरा गर्न हालसम्मको लकडाउनबाट खासै असर नपर्ने जानकारी दिएको छ।
उक्त आयोजनाका प्रमुख सहायकरथी शरदलाल श्रेष्ठले भने, ‘कोभिड १९ का कारण आयोजनालाई सहजरुपमा अघि बढाउन केही चुनौती भए पनि अहिलेसम्मको लकडाउनले तोकिएको समय सीमाभित्र आयोजना पूरा गर्न खासै असर पुर्‍याएको छैन।’

लकडाउन लम्बियो र अन्तर्राष्ट्रिय परामर्शदाता आउन कठिनाइ भएको खण्डमा भने समयमा आयोजना पूरा गर्न चुनौती हुनसक्ने बताउँदै उनले भने, ‘यदि त्यो स्थिति आयो भने अरु विकल्प र कार्ययोजना बनाएर काम गरिने छ।’

मुलुकको विकासको मेरुदण्डको रुपमा रहेको द्रुतमार्ग सबैभन्दा प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो। ललितपुरको खोकनादेखि निजगढसम्म करिब ७२ किलोमिटर लामो दूरीको उक्त सडक नेपाली सेनाको व्यवस्थापनमा आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ।

पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले कोभिड १९ को नियन्त्रणका लागि राष्ट्रिय ऐक्यबद्धता आवश्यक भएको औँल्याए। उनले कोरोना १९ सँग सम्बन्धित चीनबाट खरिद गरिएको केही स्वास्थ्य सामग्री आइसकेको र बाँकी सामग्री केही दिनभित्र आइपुग्ने जानकारी दिइए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad