समाज


जति नै कडाइ गरे पनि रोकिएन उपत्यका भित्रिने क्रम, लुकीछिपी यसरी भित्रिन्छन् मानिस

जति नै कडाइ गरे पनि रोकिएन उपत्यका भित्रिने क्रम, लुकीछिपी यसरी भित्रिन्छन् मानिस

नारायण ढुंगाना
जेठ १४, २०७७ बुधबार १२:२७,

काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन।

पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको समयमा प्रहरीको जाँच कम हुने मौका छोपेर मानिस आउने गरेका छन्। प्रहरीले कडाइ गरेको बताए पनि त्यसरी छलेर आउने क्रम देखिएको उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

पछिल्लो समयमा काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा कोभिड–१९ को संक्रमण देखिएको छ। चन्द्रागिरि, टोखा, मैतीदेवी, बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा बस्ने व्यक्तिमा कोभिड १९ देखिएको छ।

मुलुकभर नै रोगको संक्रमण दर बढ्दै जाँदा उपत्यकाको नाका सिल गर्ने कुरामा भने कुनै कञ्जुस्याईँ गर्न नहुने सचिव श्रेष्ठ बताउछन्। उनी भन्छन्, ‘बन्दाबन्दीलाई आन्तरिकरुपमा केही खुकुलो बनाउने विषयमा हाम्रो सहमति हो तर नाकाको आवागमन भने पूर्ण निषेध गर्नैपर्छ, नत्र उपत्यकामा संक्रमण दर धान्न गाह्रो हुनसक्छ।’

सरकारले बन्दाबन्दीको अवधि लम्ब्याउँदै उपत्यका प्रवेशमा कडाइ गरेको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा उपत्यकामा हुने आवागमनमा थप कडाइ गरेको प्रष्ट्याउछन्। सो निर्णयलार्ई ७५ वटै जिल्लामा परिपत्र गरेर पठाइसकिएको उनको भनाइ छ। मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा परिपत्र पनि पठाएको छ। उपत्यका प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजनका लागिबाहेक पूर्णरुपमा सिल गर्ने र लुकीछिपी आउने क्रमलाई रोक्ने गृहको निर्णयमा उल्लेख छ। श्रेष्ठका अनुसार उक्त निर्णय अझै प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन।

गृह मन्त्रालयले बन्दाबन्दी (लकडाउन) प्रभावकारी भए पनि विभिन्न बहाना बनाएर आवागमन हुने गरेकाले पूर्णरुपमा पालना हुन नसकेको निष्कर्ष निकाल्दै एक हप्ता अघि आवागमनमा अझै कडाइ गर्ने निर्णय गरेको थियो। समन्वयात्मक रुपमा काम गर्न भनिए पनि उपत्यकाको स्थानीय तह, प्रहरी र प्रशासनको समन्वयमा पनि कमि देखिएको छ।

पछिल्लो समयमा उपत्यका भित्रिने मानिसको अभिलेख राख्न थालिएको छ। गृह मन्त्रालयले स्थानीय तहको नेतृत्वमा प्रशासनको समन्वयमा लुकीछिपी प्रवेश गर्नेको खोजी गरी लगत संकलन गर्ने निर्णय यसअघि गरेको थियो। स्थानीय तहसँगको समन्वयमा सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको जाँच र निगरानीमा थप कडाइ गर्ने भनिएको थियो तर नाकामा टिपोट गरेर अभिलेख राखिएको भए पनि ती मानिस कहाँ, किन र कसरी जान्छन् यकिन गर्न सकिएको छैन। आएका मानिस कुन स्थानीय तहमा गएर बसे भन्ने कुराको जानकारी नआएसम्म जोखिम कायम नै हुने मध्यपुरथिमी नगरपालिकाका प्रमुखसमेत रहेका उपत्यका नगरपालिका फोरमका सचिव श्रेष्ठ बताउछन्।

उपत्यकामा मानिसको प्रवेश हुँदा जनघनत्व बढ्छ। त्यसबाट रोगको संक्रमण फैलियो भने नियन्त्रणमा समस्या पैदा हुन्छ। स्वास्थ्यकर्मी भारतीय सीमावर्ती क्षेत्रमा उपचारमा खटिएका बेला उपत्यकामा जोखिम बढ्यो भने त्यसले ठूलो असर गर्नेतर्फ बेलैमा ध्यान दिनुपर्ने बताउछन् फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन।

पछिल्लो समयमा सरकारले कुनै पनि जिल्लामा मानिस आएमा स्रोत स्थानमै रोक्ने गरी सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार नै नाकामा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउछन्।

काठमाडौँ आउनका लागि प्रवेश गर्न चाहने व्यक्तिले प्रवेश गर्नुपूर्व उपलब्ध भएसम्म आरडिटी परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको थियो। उक्त रिपोर्टका साथ उपत्यका प्रवेशका लागि गृह मन्त्रालयमा अनुमति माग्नु पर्नेछ। उपत्यका आउने सवारीलाई प्रवेश बिन्दुमा पुग्नुअगावै प्रस्थान बिन्दुमा नै रोक्न भनिएको छ। काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहाल गृह मन्त्रालयबाट आएको परिपत्रअनुसार उपत्यकाको सुरक्षा व्यवस्था र लकडाउन कार्यान्वयनमा स्थानीय प्रशासन थप सक्रिय भएको बताउछन्। उपत्यकामा बिहानीको समयमा भने मानिसको चाप भित्री बजार क्षेत्रमा अत्यधिक बढ्न थालेको छ। बिहान १० बजेसमम्म नै चाप रहने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad