सुवास चन्द्र नेम्वाङ नेतृत्वको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको कार्यावधि संघीय संसंदको छैटौं अधिवेशन सम्मका लागि थप गरिएको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले गरेको कार्यावधि थप सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। नेपाली कांग्रेस र राजपा नेपालले सर्लाहीका कुमार पौडेलको हत्याको विषयमा संसदीय समिति गठन गर्न माग गर्दै निरन्तर संसद अवरोध गरेपछि २०७६ साउन २० गते नेकपाका उपनेता समेत रहेका नेम्वाङको संयोजकत्वमा अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गरिएको थियो।
समितिलाई सार्थक वार्ता तथा संवाद मार्फत संसदलाई प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक अध्ययन गरि सुझाव दिनका लागि ३० दिनको समय दिइएको थियो। झण्डै १० महिना पुग्न लागिसक्दा पनि समितिले आफ्नो प्रतिवेदन तयार पार्न सकेको छैन। बुधबारको बैठकले समितिलाई छैटौं अधिवेशन सम्मको समय थप गरेको हो।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेलको गएको असार ५ गते प्रहरीको गोलीले मृत्यु भएको थियो। प्रहरीले दोहोरो झडपमा उनी मारिएको दाबी गरेपनि राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिनबाट उनलाई नियन्त्रणमा लिएर हत्या गरिएको निष्कर्ष निकालेको थियो।
त्यसैगरी बैठकमा कानुन न्याय तथा मानव अधिकार समितिको बार्षिक प्रतिवेदन २०७७ र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन २०७६ पेश भएको छ।
त्यसैगरी, रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि बैठकले बहुमतले स्वीकृत गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनि राखेको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सासंदहरु प्रेम सुवाल र दिव्यमणि राजभण्डारीले विधेयक पास गर्ने अवस्थामा मुलुक नरहेको धारणा राखेका थिए।

प्रतिक्रिया