शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैताका ३५ वर्षीय विवेक मण्डलको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
हाल मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी छ। उनको ८५ प्रतिशत शरीरमा जलन भएको चिकित्सक डा.किरण नकर्मीले जानकारी दिए।
‘उहाँको ८५ प्रतिशत शरीर जलन भएकाले अवस्था चिन्ताजनक छ,’ नकर्मीले नेपालखबरसँग भने, ‘अवस्था निकै गम्भीर छ। हामी उपचारकै क्रममा छौँ। शल्यक्रिया भइरहेको छ।’
डा.नकर्मीका अनुसारअहिलेसम्मको रेकर्डअनुसार नेपालमा ८५ प्रतिशत शरीर जलन भएका बिरामीलाई बचाउन सकिएको छैन।
‘मण्डलको विषयमा अहिले नै केही भन्न सक्ने अवस्था छैन्,’ उनले भने, ‘विरामी स्वास्थ्य अवस्था गम्भीर छ। नेपालमा ८५ प्रतिशत जलन भएका व्यक्तिलाई बचाउँन सकिएको छैन्। तर हामी सक्दो प्रयासमा छौँ।’
सर्लाहीको गोडैता नगरपालिका- १० सिसौटिया निवासी ३५ वर्षीय विवेकले शुक्रबार दिउँसो पौने ४ बजे आफ्नै घरमा आत्मदाहको प्रयास गरेका थिए।
उनलाई शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि कीर्तिपुर, काठमाडौँ ल्याइएको हो।
सुरुमा उनलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार गरिएको थियो। मलंगवामा उपचार सम्भव नभएपछि शुक्रबार साँझ थप उपचारका लागि काठमाडौँ ल्याइएको हो।

विज्ञान विषयमा स्नाकोत्तर (एमएस्सी) गरेका विवेक एक वर्षदेखि बेरोजगार थिए। आर्थिक अभावले उनमा केही समयदेखि मानसिक समस्या देखिएको परिवारका सदस्यले बताएका छन्।
उनको पारिवारिक स्रोतका अनुसार एमएस्सीको पढाई पूरा गरेपछि उनले केही समय महोत्तरीको गौशालास्थित एक माविमा तीन वर्ष पढाएका थिए। तर विद्यालय भित्रको राजनीतिक दवावका कारण विवेकले शिक्षण पेशा छोड्नु परेको थियो।
त्यसयता उनी बेरोजगार रहेको परिवारका सदस्यले बताएका छन्। विभिन्न विद्यालय र कलेजमा रोजगारीमा समेत प्रयास गरेका विवेकले लोकसेवाको परीक्षा समेत प्रयास गरेका थिए। तर सबैतिर असफल भए पछि विवेक मानसिक रुपमा कमजोर बन्दै गएका थिए।
आर्थिक अभावले उनमा मानसिक समस्या सुरु भएको सिसौटिया १० का वडाध्यक्ष वैद्यनाथ मण्डलले बताएका छन्।
विवेककै अध्ययनका लागि उनका अभिभावकले वैंकबाट तथा गाउँघरबाट ३५ लाख रुपैयाँ ऋणसमेत लिएको थियो। आफू बेरोजगार भए पछि ऋण तिर्न नसकेर घरमा नै बस्नु परेका कारण पनि विवेक तनावमा रहेको परिवारले जनाएको छ।
विवेकका आमाबुवा, श्रीमती, एक छोरा र एक छोरी छिन्। उनका दाजु वैदेशिक रोजगारीमा छन्।
Shares

प्रतिक्रिया