समाज


सीमाबाट भिडसँगै नेपाल प्रवेश गरेकी बालिकासहित दुई जनामा संक्रमण पुष्टि

सीमाबाट भिडसँगै नेपाल प्रवेश गरेकी बालिकासहित दुई जनामा संक्रमण पुष्टि

गोकुल जोशी
जेठ १३, २०७७ मंगलबार १५:३,

सुदूरपश्चिम प्रदेशमा मंगलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अछामको मेल्लेख गाउँपालिका–४ की ११ वर्षीय बालिका र कैलालीको जानकी गाउँपालिका–१ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। धनगढीस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ पुगेको छ। 

भारतबाट आएका थिए संक्रमित
मंगलवार संक्रमण देखिएका दुवै जना भारतबाट आएको खुलेको छ। अछामको मेल्लेख गाउँपालिका–४ की ११ वर्षीया संक्रमित जेठ ८ गते कैलालीको गौरीफन्टा नाकाबाट कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन्। उनी आफ्नो बुवा सँगै भारतबाट फर्किएकी हुन्। उनका बुवा पनि कोरोना संक्रमित हुन्। उनको पनि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

‘थप दुई जनामा संक्रमण पुष्टि भएको छ, ती मध्ये अछामकी ११ वर्षीय बालिकाका बुवामा यस अघि कोरोना पुष्टि भएर उपचार भइरहेको छ, उनीहरुको अवस्था सामान्य छ’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने।

गौरीफन्टा नाकाको २५ सय जनाको भीडमा रहेका ६ जनामा संक्रमण
जेठ ८ गते कैलालीको गौरीफन्टा नाकाबाट २४ सय ९८ जनालाई नाका प्रवेश गराइयो। मानिसहरुको भीडमा रहेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत शनिबार बैतडीको शिवनाथ गाउँपालिकाका चार जना पुरुषमा संक्रमण पुष्टि भयो, त्यस पछि सोही भीडमा रहेका अछामको मेल्लेख गाउँपालिका–४ का ३३ वर्षीय पुरुषमा संक्रमण देखियो र मंगलवार सोही भीडमै रहेकी ११ वर्षीय बालिका पनि संक्रमण पुष्टि भएको छ। कैलाली र कञ्चनपुरका नाकाबाट कोरोना परीक्षणविना मानिसहरुलाई गाउँ पठाउन थाले पछि संक्रमणको जोखिम बढेको छ।

एउटै क्वारेन्टिनका ४ जनामा संक्रमण
मंगलवार कैलालीको जानकी गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा क्वारेन्टिनमा बसेका थप एक जना संक्रमण पुष्टि भएको छ। ती संक्रमित रुपैडिया नाका हुँदै जेठ ३ गते कैलाली पुगेको गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले बताए। यो सँगै जानकी गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका ४ जनामा कोरोना संक्रमण देखा परेको छ।

यस अघि त्यही क्वारेन्टिनमा रहेका तीन जनामा संक्रमण देखिएको थियो। सो क्वारेन्टिनमा अहिले ४१ जना बस्छन्। क्वारेन्टिनमा बसेका तीन जनामा संक्रमण देखिए पछि १६ जनाको थ्रोट स्बाव संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टिनमा व्यवस्थित तरिकाले बसाल्न असहज भएको गाउँपालिका अध्यक्ष चौधरी बताउँछन्।

‘१६ जनाको एकै पल्ट नमूना पठाएका हौँ, सँगै रिपोर्ट नआउँदा क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ’ उनले नेपालखबरसँग भने, ‘अहिले नमूना पठाइएका ११ जनालाई छुट्टै र अन्यलाई छुटै राखिएको छ।’

धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका जानकी गाउँपालिकाका संक्रमितको टिकापुर अस्पतालको आइसोलेसनमा राखिएको छ। सुदूरपश्चिमका कोरोना संक्रमित संख्या १७ जनामध्ये कैलालीका चार र कञ्चनपुरका एक गरी पाँच जना निको भएर घर फर्किसकेका छन्।

सेती प्रादेशिक अस्पतालमा ६ जना, टिकापुर अस्पताल कैलालीमा ४ जना, जिल्ला अस्पताल बैतडीमा एक र डडेल्धुरा अस्पतालमा एक जना गरी सुदूरपश्चिमका कोरोना संक्रमितको अहिले चार वटा अस्पतालमा उपचार भइरहेको छ।

याे पनि पढ्नुहाेस्:

सुदूरपश्चिमका नाकाबाट परीक्षण बिनै भित्रिए १५ हजार मानिस

 गड्डाचौकी नाकाबाट घर फर्किनेको लर्को, ५ घण्टामा १५ सय बढीले पाए प्रवेश

भारतबाट उद्धार गर्दा २५ सय जनाकाे भिडमा थिए बैतडी र अछामका संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad