ad ad

समाज


नुवाकोटका पहिलो संक्रमित नेकपा नेता, ककनी-३ दस दिनका लागि सिल

नुवाकोटका पहिलो संक्रमित नेकपा नेता, ककनी-३ दस दिनका लागि सिल

नेपालखबर
जेठ १२, २०७७ सोमबार ३:६,

नुवाकोटमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएका व्यक्ति नेकपाका नेता भएको खुलेको छ। यसैकारण उनको सम्पर्क धेरै जनासँग भएको आशंकामा उनको घर रहेको ककनी गाउँपालिकाको वडा नम्बर ३ संक्रमण पुष्टि भएको आइतबार साँझदेखि नै १० दिनका लागि सिल गरिएको छ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले आइतबार साँझै विज्ञप्ति जारी गरी ककनी वडा नम्बर ३ मा अब १० दिनका लागि हिँडडुल गर्न नपाइने, वडामा रहेका सबै सरकारी कार्यालयसमेत बन्द रहने गरी घरबाट निस्कन नपाइने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन्।

nuwakot

अध्यक्ष लामाका अनुसार  संक्रमित व्यक्ति नेकपाका नेता हुन्। साथै प्रदेश खानेपानी योजनाका केन्द्रीय सदस्यसमेत भएकाले उनी काठमाडौं ओहोदोहोर गरिरहन्थे। पछिल्लोपटक उनी यही जेठ ५ गते काठमाडौं आएका थिए। 

‘उहाँको धेरै जनासँग सम्पर्क भएकाले हामीले उहाँको घर रहेको वडा नम्बर ३ लाई आइतबार साँझदेखि लागू हुने गरी १० दिनका लागि सिल गरेका हौं,’ अध्यक्ष लामाले सोमबार बिहान नेपालखबरसँग भने।

नुवाकोट जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार संक्रमित व्यक्तिलाई आइतबार साँझै काठमाडौंको टेकु अस्पतालमा ल्याइएको जानकारी दिए।

‘अब हामी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा उहाँको विस्तृत विवरण संकलन गरी कन्ट्याक्ट ट्रेसिङ सुरु गर्ने तयारीमा छौं,’ सोमबार बिहान नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘अहिलेसम्म प्राप्त विवरणअनुसार उहाँ राजनीतिक रूपमा सक्रिय व्यक्ति हुनुहुन्छ र कतै विदेश जानुभएको थिएन।’

उनमा संक्रमण पुष्टि भएको थाहा पाउनासाथ उनको परिवारका सदस्यलाई होम क्वोरेन्टिनमा रहन भनिएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिए। ‘संक्रमित स्वयं र उहाँका परिवारका सबै सदस्यको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘अहिलेसम्म कुनै लक्षण देखिएको छैन।’

अध्यक्षा लामाका अनुसार उनको घरमा आमा, भाइ र बुहारी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .