चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकहरूलाई अनावश्यक रुपमा बढी काममा नलगाउन विश्वविद्यालय र प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ।
आयोगले सूचना निकाली पाठ्यक्रमको परिधिमा रहेर सेवामा खटाउन सबै विश्वविद्यालय र प्रतिष्ठानहरुलाई निर्देशन दिएको हो।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले निकालेको सूचनामा आवासीय चिकित्सकहरुलाई अत्यावधिक समय (दिन र रात) कार्य गर्न बाध्य बनाई शारीरिक तथा मानसिक रुपमा नकारात्मक असर परेको गुनासो आयोग समक्ष आएको जनाइएको छ।
‘आवासीय चिकित्सकहरुलाई दिन र रात कार्य गर्न बाध्य बनाई शारीरिक तथा मानसिक रुपमा नकारात्मक असर परेको गुनासो आयोगलाई प्राप्त भएको हुँदा सो सम्बन्धमा सम्बन्धित बिषयको परिधिमा रहि सेवामा खटाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी आयोगलाई यथाशिघ्र जानकारी गराउनुहुन आग्रह छ,’ सूचनामा उल्लेख गरिएको छ।
चिकित्सा शिक्षामा स्नाकोत्तरतह (पीजी) एमडी,एमएस गर्ने चिकित्सकहरुलाई लगातार ३६ घण्टा सम्म काममा लगाउने गरिएको चिकित्सकहरुले गुनासो गर्दै गरेका छन्।
आयोगले सूचना मार्फत लगातार लामो समय काममा नलगाउन भनेको हो।
यता चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्र्तगत वीर अस्पतालले २४ घण्टे ड्युटीपछि अनिवार्य रुपमा विदा दिने निर्णय गरेको छ।
न्याम्सका सहायक डीन प्रा डा विकास विक्रम सिंह अधिकारीले जारी गरेको परिपत्रअनुसार रेजिडेन्ट चिकित्सकहरूले २४ घन्टे ड्युटी पूरा गरेपछि बिहानको राउण्ड सकिएलगत्तै बिदा दिने निर्देशन दिइएको हो।
उक्त व्यवस्था सम्बन्धित सबै विभाग तथा कार्यक्रमलाई कार्यान्वयनका लागि जानकारी गराइएको छ।

Shares

प्रतिक्रिया