कीर्तिपुरको होल्डिङ सेन्टरमा नयाँ टेन्ट हालिएपछि भेषराज दर्जी बुधबार श्रीमतीलाई ‘सामान यता राख, उता राख’ भन्दै आह्राइरहेका थिए। ह्विलचेयरमा बसेका उनको अनुहार मलीन थियो, आवाजमा निराशा र आक्रोश।
श्रीमती विमला सुनुवार उनलाई शान्त पार्ने कोसिस गरिरहेकी थिइन्। उनी भने झर्किरहेका थिए। उनी असहाय महसुस गरिरहेका थिए।
‘आफू भएर पनि परिवारका लागि केही गर्न सकिएन,’ उनले सुस्केरा छाडे।
भेषराजको परिवार झापाको भुँडीसिमल भन्ने ठाउँको सुकुम्बासी बस्तीमा बस्ने गर्थ्यो। आमा–बुवा पनि आफ्नो जग्गा–जमिन नभएकाले सुकुम्बासी बस्तीमै बस्ने गर्थे। चार वर्षअघि उनी काठमाडौँ आए।
त्यसयता गैरीगाउँको सुकुम्बासी बस्तीमा मासिक पाँच हजार भाडा तिरेर विमला र भेषराजले आफ्नो कठिन जीवन बिताइरहेका थिए। उनीहरूको २ वर्षका छोरा छन्।
श्रीमान् हिँडडुल गर्न र काम गर्न नसक्ने भएकाले बाहिर गएर काम गर्नेदेखि घरायसी काम गर्ने सबै जिम्मा विमलाकै थाप्लोमा छ। उनी मैतिदेवीमा मान्छेको घर–घर गएर काम गर्ने गर्थिन्। जसबाट आएको पैसाले आफू बस्ने ठाउँको भाडा तिर्ने, रासन–पानी ल्याएर तीन जनाको परिवार पाल्ने गर्थिन्।
‘मेरो आफ्नो भन्नु यही एउटी श्रीमती छे। मान्छेको घरको काम गरेर दुई छाक खानका लागि जुटाएकी छ,’ भेषराजले नेपालखबरसँग भने।
शनिबार सुकुम्बासी बस्तीमा डोजर चलेपछि भेषराज, विमला र उनीहरूको २ वर्षको छोरा कीर्तिपुरको राधास्वामी सत्संग व्यास नेपालको आश्रममा आएका थिए। होल्डिङ सेन्टरमा आएदेखि विमला आफ्नो काममा गएकी छैनन्।
‘अब के हुन्छ? यति सानो छोरालाई कसरी हुर्काउने? श्रीमान् र छोराको सहारा बन्नु कि काम गर्न जानु भन्ने अन्योलमा छिन् विमला।
उनीहरूकी किशोरी छोरी पनि छिन्। जो बुवाआमाको कुरा नसुनी बिहे गरेर गइसकेकी छन्।
भेषराज निराश मुद्रामा भन्छन्, ‘खानाको कुरा किन्न पैसा पनि छैन। म काम गर्न सक्दिनँ। थाहा छैन अब के गर्ने हो।’
मंगलबार राति परेको मुसलधारे पानीले भेषराजको परिवारलाई राति ढिलासम्म सुत्न दिएन। टहराको छेउपट्टि बसेकाले सुत्ने ठाउँमै हावाहुरीसहितको पानी आयो।
शौचालय जान–आउनमा समेत भेषराजलाई सहारा चाहिन्छ। दोलखा माइती भएकी विमलाले भेषराजसँग १७ वर्षअघि विवाह गरेकी थिइन्।

उपचार गर्ने पैसा छैन
भेषराज पहिले अशक्त थिएनन्। पाँच वर्षअघि उनको पेटमा समस्या हुन थाल्यो। एकाएक धेरै पेट दुख्न थालेपछि उपचारका लागि श्रीमती र छोरीसँग झापाबाट काठमाडौं आए। त्यहाँबाट थाहा भयो— उनको फोक्सोमा पानी जमेको रहेछ।
डाक्टरले फोक्सोमा जमेको पानी समय–समयमा निकालिराख्नुपर्छ भनेका थिए। तर उनको आर्थिक अवस्था फोक्सोमा जमेको पानी निकाल्न सक्ने थिएन।
‘मेरो फोक्सोमा जमेको पानी निकाल्न ५०–६० हजार लाग्छ रे,’ भेषराजले नेपालखबरसँग भने, ‘म त्यत्रो खर्च गर्न सक्दिनँ। त्यही भएर ३ वर्षदेखि अस्पताल गएकै छैन।’
उपचार नगरिएकाले होला, बिस्तारै उनी कमजोर हुँदै गए। भेषराज जे भेटिन्थ्यो, त्यही काम गर्थे। आफ्नो परिवारलाई कमाएर ल्याएर खुवाउँथे।
अहिले भेषराजको देब्रे पाटो राम्रोसँग चल्दैन। शरीर बिस्तारै गल्दै गएको उनले बताए। पहिले कमजोर भए पनि आफैँ हिँडडुल गर्न सक्थे, अहिले सहारा चाहिन्छ।
‘कमाउने मै एउटा थिएँ, मै बिरामी भएपछि कसले कमाउँछ?’ आँखाभरि टिलपिल आँसु पार्दै भेषराजले भने।
यही समस्याले होला, ३८ वर्षको उमेरमा भेषराजको ज्यान सुकेर खिङरिङ्ग परेको छ। अनुहारको छाला मुजा परिसकेको छ। आँखामा आशाको किरण देखिँदैन। उनलाई आफ्नो स्वास्थ्यको चिन्ता होइन, ‘भोलि के खाने हो’ भन्ने चिन्ता ज्यादा लाग्छ।
‘खोइ! बस्ने ठाउँ दिए त बस्न हुन्थ्यो, के गर्नु,’ सरकारले केही गर्छ कि भन्ने आशमा भेषराजले भने।
Shares

प्रतिक्रिया