बैतडीमा शुक्रबार भेटिएका एक कोरोना संक्रमित थुनुवा रहेको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बैतडीका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।
यो पनि: कैलालीका संक्रमित बाँके, इटहरी र भारतबाट आएका
ती युवक एक महिनाअघि भारतबाट आएको र तीनहप्ता अघि एक युवतीको हत्या आरोपमा पक्राउ परेको जिल्लाका कोरोना फोकल पर्सन सिनियर अहेब भुवनप्रसाद जोशीले बताए।
‘उनलाई तीन दिनअघि ज्वरो, खोकी आएपछि अस्पताल लगेर परीक्षणका लागि स्वाव परीक्षण गरिएको थियो। आज आएको रिपोर्टमा पोजिटिभ देखिएको हो,’ अहेब जोशीले नेपालखबरसँग भने।
जोशीले थुनुवालाई संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालय सिल गर्नुपर्ने अवस्था आएको बताए। उनको सम्पर्कमा आएकाहरुको खोजी कार्य चाँडै थालिने उनले जानकारी दिए।
चार थुनुवाको स्वाब परीक्षणका लागि पठाइएको र एक जनाको रिपोर्टमा कोरोना संक्रमण देखिएको बैतडीका प्रहरी प्रमुख डीएसपी दिल्लीनारायण पाण्डेले बताए।
भारतबाट चैत ६ गते नेपाल आएका उनी कर्तव्य ज्यानको मुद्दामा वैशाख १५ गते पक्राउ परेका हुन्। थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको उनले बताए।

प्रतिक्रिया