समाज


सुदूरपश्चिममा ३५ दिनयता कोरोना संक्रमित शून्य

सुदूरपश्चिममा ३५ दिनयता कोरोना संक्रमित शून्य

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १६:०,

सुदूरपश्चिम प्रदेशमा पछिल्ला ३५ दिनयता कोरोना भाइरस संक्रमित फेला परेका छैनन्। देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का संक्रमितको संख्या दिनहुँ बढी रहे पनि सुदूरपश्चिममा भने सो अवधिमा संक्रमित फेला नपरेका क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ।

संक्रमित फेला नपरे पनि पछिल्लो समय भारतबाट सुदूरपश्चिमका विभिन्न नाकाबाट भित्रिन लागेका नागरिकका कारण कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन्। यहाँका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडी नाकाबाट नागरिक भित्रिन थालेपछि सिंगो प्रदेश कोरोनाको उच्च जोखिममा छ।

प्रदेशमा गत चैत १४ गते कोरोना भाइरस संक्रमणको पहिलो घटना फेला परेको थियो। त्यसपछि पाँच जना कोरोना संक्रमित देखिएकामा सबै निको भएर घर फर्किसकेका कारण सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या शुन्य भएको क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए। कोरोना संक्रमितको उपचारका लागि यहाँको सेती प्रादेशिक अस्पताल कैलालीलाई कोरोना ‘डेडिकेटेड’ अस्पतालका रुपमा सञ्चालन गरिएको उनले जानकारी दिए।

पछिल्लो समय सेती प्रादेशिक अस्पतालमा ५६ जना कोरोनाको शंकास्पदलाई निगरानीमा राखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पछिल्लो एक सातामा कैलाली र कञ्चनपुर हुँदै अरु जिल्ला गएका तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भइसकेकाले सुदूरपश्चिम भारतबाट आउनेका कारण उच्च जोखिममा रहेको छ। महेन्द्रनगर, अत्तरिया हुँदै दैलेख आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय एक युवामा सोमबार कोरोना संक्रमण पुष्टि भएसँगै कैलाली र कञ्चनपुरबाट अरु जिल्ला गएका व्यक्तिमा कोरोना पुष्टि हुनेको संख्या तीन पुगेको बताइएको छ।

त्यसैगरी कैलालीबाट बर्दिया फर्किएकी ११ वर्षीया एक बालिका र कञ्चनपुरबाट काठमाडौं गएकी ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। बर्दियाकी कोरोना संक्रमित ११ वर्षीय बालिका कैलालीको गोदावरी र भजनी नगरपालिकामा ४२ दिन आफन्तको घरमा बसेर फर्किएकी बुझिएको छ। सम्पर्कमा आएका व्यक्तिको परीक्षण भइसकेको र सबैमा कोरोना संक्रमण नभएको पुष्टि भइसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कञ्चनपुरबाट काठमाडौं गएकी कोरोना संक्रमित महिला बेदकोट नगरपालिकाकी भएको खुलेको छ। उनको सम्पर्कमा आएका व्यक्तिको पनि परीक्षण भइसकेको र कसैमा पनि संक्रमण नभएको बताइएको छ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा एक हजार ६७९ जना क्वारेन्टिनमा रहेका र १३ जनालाई आइसोलेसनमा राखिएको छ। जसमध्ये सेती प्रादेशिक अस्पतालमा तीन, टीकापुरमा चार, बझाङमा एक, डोटीमा एक, बाजुरामा तीन र डडेल्धुरामा एक जनालाई आइसोलेसनमा राखिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad