छापा खबर


भारत ! आफ्नै नक्सा हेर, कालीनदी कहाँ छ?

भारत ! आफ्नै नक्सा हेर, कालीनदी कहाँ छ?

नेपालखबर
जेठ ८, २०७७ बिहिबार २३:४७,

लिम्पियाधुरासम्मको भूभाग नेपालको हो भन्ने प्रमाण खोज्न कहीँ जानुपर्दैन, भारतले गत २ नोभेम्बर (१६ कात्तिक) मा जारी गरेको नक्सा नै पर्याप्त छ।

भारतले जारी गरेको राजनीतिक नक्सामा स्पष्ट रूपमा लिम्पियाधुराबाट निस्केको नदीलाई काली नदी भनिएको खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन्।

सर्भे अफ इन्डिया (भारतीय सर्वेक्षण विभाग) बाट जारी सो राजनीतिक तथा प्रशासनिक नक्सा विभागको वेबसाइट www.surveyofindia.gov.in मा उपलब्ध छ । भारतलाई उसैले जारी गरेको नक्सा हेर्न लगाउने हो भने उसले कालीभन्दा पूर्वको नेपाली भूभाग अनधिकृत रूपमा अतिक्रमण गरेको हो भन्ने पुष्टि हुन्छ।

२ नोभेम्बर (१६ कात्तिक)मा भारतले जारी गरेको अंग्रेजी संस्करणको नक्सामा कालीनदी अंकित छ । तर, लगत्तै ८ नोभेम्बर (२२ कात्तिक)मा भारतले त्यही नक्सा संशोधन गरेर प्रकाशित गर्यो जसमा नदी छ, तर काली नाम हटाइएको छ । भारतले आफ्नै दस्ताबेजमा बेइमानी गरेर नेपाली भूमिमा कब्जा गर्न खोजेको छ भन्ने प्रस्टै हुन्छ।

त्यस्तै २८ फेब्रुअरी ९१६ फागुन०मा हिन्दी र संस्कृत भाषाको नक्सा पनि जारी गरियो । त्यसमा पनि कालीनदीको नामै छैन ।

आफुलाई विश्व गुरु भन्ने भारतलाई थाहा हुनुपर्ने हो, अन्तर्राष्ट्रिय सिमाना देखाउने नक्सा जारी गर्ने विषय बालबालिकाले ‘ड्रइङ प्राक्टिस’ होइन, जसलाई मन लाग्दा कोर्न र मन नलाग्दा मेट्न सकियोस् । तर, भारतले नयाँ नक्सा अपलोड गरे पनि २ नोभेम्बरको नक्सा अहिले पनि सर्भे अफ इन्डियाको वेबसाइटमा छ । त्यस्तै सर्भे अफ इन्डियाले २ नोभेम्बरमा अपडेट गरेको फेसबुक पेजमा पनि कालीनदीसहितको नक्सा छ।

४ मार्च सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार काली नदीलाई सीमानदी भनिएको छ।

कालीको पूर्व नेपाल र पश्चिम भारत हुने गरी अन्तर्राष्ट्रिय सिमाना त्यही सन्धिका आधारमा तय भएको हो । तर, भारतले लिम्पियाधुराबाट सुरु हुने नदी सहायक नदी हो, लिपुलेक क्षेत्रबाट सुरु हुने नदी काली नदी हो भन्ने दाबी गर्र्दै आएको थियो । तर, उसलै जारी गरेको नक्सामा लिम्पियाधुराबाट आएको नदीलाई काली नदी भनिएको छ।

त्यसो त लिम्पियाधुराबाट निस्किएको नदीलाई काली नदी भनिएको यो पहिलोपटक होइन । ऐतिहासिक नक्साहरूले पनि यही भन्दै आएका छन् । सुगौली सन्धिपछि सन् १८२७ मा सर्भे अफ इन्डियाले तयार गरेको नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई रिभर अफ काली भनिएको छ।

त्यस्तै, सन् १८५६ मा सर्भे अफ इन्डियाले कलकत्ताबाट प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई रिभर अफ काली भनिएको छ।

‘तर, ब्रिटिस अधिकारीहरूले सन् १८७९ र त्यसपछि जारी गरिएका नक्सामा भने कार्टोग्राफिक संकेत चिह्नबाट कालापानी र लिपुलेकलाई भारततर्फ पारियो,’ उनी भन्छन् । त्यही आधारमा भारतले लिम्पियाधुरादेखि कालापानीसम्मको भूभाग कब्जा गरेर आफ्नो फौजी पोस्ट स्थापना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad