समाज


दिउँसो दुई प्रदेशमा तातो दिन, राति पाँच प्रदेशमा हुरीको सम्भावना

यी प्रदेशमा वर्षा-हिमपात हुने प्रक्षेपण
दिउँसो दुई प्रदेशमा तातो दिन, राति पाँच प्रदेशमा हुरीको सम्भावना

पाँचथरको सदरमुकाम फिदिम बजार र आसपासको दृश्य। तस्बिरः रासस


नेपालखबर
जेठ १३, २०८३ बुधबार ८:४६, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ।

यतिबेला (बुधबार बिहान) कोसी, मधेस र बागमती प्रदेशमा साधारणतया र बाँकी पहाडी र हिमाली भेगको आकाशमा आंशिक बादल लागेको छ भने  तराईमा मौसम मुख्यतया सफा छ। अनि गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम महाशाखाले जनाएको छ।

आज दिउँसो र रातिचाहिँ कस्तो होला मौसम? यस्तो छ मौसम महाशाखाको प्रक्षेपण:

दिउँसो : कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया र बाँकी हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसीसहित बागमती र गण्डकी प्रदेश हिमाली र पहाडी भूभागका केही स्थान, मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई साथै लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ, पहाडी/हिमाली भेगमा हिमपात हुने सम्भावना पनि छ। अनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा भने तातो दिन हुने सम्भावना छ।

राति : कोसी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बाँकी हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ, पहाडी/हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। मधेससहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र पहाडी क्षेत्रका थोरै स्थानमा हुरीको पनि सम्भावना छ।

काठमाडौँमा पनि वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा आज पनि मंगलबारजस्तै साँझपख वर्षा हुने सम्भावना देखिएको हो। 

‘तर वर्षाको सम्भावना हिजोभन्दा केही कम देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ४० प्रतिशत मात्र छ।’ 

मौसमविद् लामिछानेनका अनुसार आज दिनभरचाहिँ काठमाडौँ उपत्यकामा मौसम घाम-बादल, घाम बादलको अवस्थामा रहने अनुमान छ।

‘अनि अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना छ। कतै कतै मध्यमसम्म पनि हुन सक्छ’, उनले भने। 

गएराति काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा हल्का वर्षा भएको र केही ठाउँमा मध्यम वर्षा पनि भएको उनले बताए। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad