त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा कीर्तिपुरमा सञ्चालित दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। 'नेपालमा विकासका समसामयिक मुद्दाहरू' विषयक उक्त सम्मेलनमा मुलुकको विकासका बहुआयामिक आयाम, चुनौती र सम्भावनाबारे गहन विमर्श भएको हो।
जेठ १० र ११ गते चलेको उक्त सम्मेलनको समापन गर्दै त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. दुबिनन्द ढकालले प्राज्ञिक बहस र अनुसन्धानले नीति निर्माणमा मार्गनिर्देश गर्ने बताए। 'यस्ता सम्मेलनले नयाँ ज्ञान निर्माणमा ठूलो योगदान पुर्याउँछन्,' डीन ढकालले भने, 'त्यसैले अन्य विभागहरूले पनि यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरूलाई निरन्तरता दिनु आवश्यक छ।'
सम्मेलनको मुख्य वक्ता (कि-नोट स्पिकर) का रूपमा प्रस्तुत भएका प्रा.डा. प्रेमसागर चापागाईंले विश्वव्यापीकरण र पर्यावरणको सन्तुलनमा जोड दिए। 'विश्वव्यापीकरण र पर्यावरणको वर्तमान अवस्थालाई नजरअन्दाज गरेर मुलुकको विकास सम्भव छैन,' उनले भने, 'नेपालले आफ्नो विकास प्रक्रियामा यी दुवै संवेदनशील विषयलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने खाँचो छ।'
सम्मेलनको दोस्रो दिन आयोजित प्यानल छलफलमा विज्ञहरूले नेपालको मौलिक विकास मोडलको आवश्यकता औंल्याएका थिए।
पूर्वराजदूत एवं विभागका संस्थापक प्रा.डा. महेन्द्रप्रसाद सिंह, सिनासका कार्यकारी निर्देशक प्रा.डा. मृगेन्द्रबहादुर कार्की र पाटन संयुक्त क्याम्पसकी उपप्राध्यापक डा. नीति अर्यालले अब 'ग्रामीण विकासको नेपाली मोडल' बनाउने सिद्धान्त प्रतिपादन गर्नुपर्नेमा जोड दिए।
बहसको सहजीकरण गर्दै ग्रामीण विकास केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. सुमन खरेलले विश्वविद्यालय र राज्यको भूमिका स्पष्ट हुनुपर्ने बताए। 'विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न त सक्छ, तर उनीहरूको रोजगारी सुनिश्चित गर्ने अवस्थामा विश्वविद्यालय हुँदैन,' सहप्रा.डा. खरेलले भने, 'आर्थिक र नीतिगत पक्ष राज्यसँग जोडिने भएकाले बजारको माग अनुरूप रोजगारी सिर्जना गर्ने मुख्य जिम्मेवारी राज्यले नै लिनुपर्छ।'
उनले सम्मेलनमा देखिएको उत्साह र सबैको सहयोगले भावी दिनमा पनि यसप्रकारका विकासका बहसहरू आयोजना गर्न विभागलाई थप हौसला मिलेको उल्लेख गरे।
दुई दिने उक्त सम्मेलनमा डा. सुमन खरेल, डा. सुस्मिता गौतम, डा. रमेश न्यौपाने, डा. महेन्द्र सापकोटा, डा. प्रज्वलमान प्रधान, लक्ष्मण कार्की, मीनबहादुर शाही, भवदत्त सापकोटा, नोदनाथ त्रिताल, भुपेन्द्रबहादुर शाही, रेवनकुमार दाहाल, लिलाप्रसाद लिम्बु, सुभाष झा, नवराज भट्टराई, नरकुमार चौहान, चिरञ्जवी देवकोटा, हेमन्तराज अधिकारी, राजुराम अधिकारी, गोपाल खड्का, विद्याज्योती घिमिरे, दिपकचन्द्र दत्त, इन्द्रमाली मालाकार, राजनविनायक पासा, रमेशकुमार लामा, सुवोध निरौला, केन्द्रप्रकाश खत्री, तीर्थराज तिम्सिना र निराजन रिजाललगायत अनुसन्धानकर्ताहरूले विभिन्न विषयमा आधारित २० वटा कार्यपत्र तथा अनुसन्धानपत्रहरू प्रस्तुत गरेका थिए।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका ग्रामीण विकास विभागहरूको सहकार्यमा आयोजित उक्त सम्मेलनमा विभागमा अध्ययनरत विद्यार्थी, शोधार्थी, प्राध्यापक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता थियो।
Shares

प्रतिक्रिया