नेपालको सबैभन्दा पुरानोमध्येको पाँचतारे होटल सोल्टीको २६ वर्षसम्म व्यवस्थापन सम्हालेर बाहिरिएको बेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी) फेरि नेपाल फर्किएको छ।
सीजी होल्डिङ्सले ललितपुरको पुल्चोकमा सञ्चालनमा ल्याउन लागेको पाँचतारे होटल आईएचजीकै चर्चित क्राउन प्लाजा ब्रान्डमा सञ्चालन हुनलागेको हो।
होटलको सम्पूर्ण व्यवस्थापन आईएचजीले लिएको छ। सोल्टी होटलसँगको सम्झौता सकिएपछि सन् २०२१ मे १४ बाट क्राउन प्लाजा बाहिरिएको थियो। आईएचजीअन्तर्गतको क्राउन प्लाजा ब्रान्डमा संसारका एक सयभन्दा बढी देशमा ४०० होटलहरू सञ्चालनमा छन्।
आईएचजी ग्रुपअन्तर्गत नै २० भन्दा बढी ब्रान्ड छन्। ती ब्रान्डका नाममा विश्वभर ६ हजार ६०० भन्दा बढी होटलहरू सञ्चालनमा छन्।
नेपालमा भने सोल्टी होटल छाडेको पाँच वर्षपछि सीजी ग्रुपले प्रवर्द्धन गरिरहेको पाँचतारे होटलको व्यवस्थापन सम्हाल्न आईएचजी फर्किएको हो। सीजी होल्डिङ्सले पुल्चोकमा बनाइरहेको होटल तयार हुने क्रममा छ।
आगामी नोभेम्बरबाट होटल पूर्ण सञ्चालनमा ल्याउन लागिएको सीजी होल्डिङ्सका उच्च अधिकारीले नेपालखबरलाई जानकारी दिए।

चौधरी ग्रुपअन्तर्गतको सीजी होल्डिङ्स अरुण चौधरीको स्वामित्वमा छ। सीजी होल्डिङ्सले पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा आक्रामक रुपमा लगानी विस्तार गरिरहेको छ। पुल्चोकमा तयार हुँदै गरेको क्राउन प्लाजा सीजी होल्डिङ्स अन्तर्गतको होटल हो।
चौधरी ग्रुपअन्तर्गत सीजी कर्प ग्लोबल अर्को अन्तर्राष्ट्रिय कम्पनी छ, नेपालसहित विश्वव्यापी रुपमा हस्पिटालिटी क्षेत्रमा लगानी गरिरहेको यो कम्पनी भने विनोद चौधरीको स्वामित्वमा रहेको छ।
उक्त होटल निर्माण सुरु भएको ७ वर्षपछि सञ्चालनको लागि तयार हुनलागेको हो। २०७६ वैशाखमा शिलान्यास गरिएको यो होटल कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीको मारमा परेको थियो।
यो होटल सञ्चालनमा आउँदा काठमाडौं उपत्यकामा एउटा पाँचतारे नयाँ होटल मात्रै थपिने होइन, यो काठमाडौंको आधुनिक जीवनशैली, विलासी अनुभव र नेपाली आतिथ्यलाई विश्वस्तरमा पुनः स्थापित गर्ने एउटा विलासी मञ्च बन्दै छ।

क्राउन प्लाजा होटलको ढोकाभित्र पाइला टेक्नेबित्तिकै पाहुनालाई आधुनिक विलासिताभन्दा पहिले नेपाली न्यानोपनले स्वागत गर्नेछ।
फराकिलो र उज्यालो लबीमा स्थानीय हस्तकला र समकालीन इन्टेरियरको सन्तुलित संयोजन देख्न सकिन्छ। नेपाली सजावट र उज्यालोको आधुनिक व्यवस्थापनले त्यहाँको वातावरणलाई अझ जीवन्त बनाएको छ।
लबीमै ‘एलिमेन्ट्स’ कफी स्टेसन बनाइएको छ जहाँ कफीको चुस्कीसँगै आफ्ना नजिककासँग मुस्कुराउँदै सौहार्दता साट्न सकिन्छ।

होटलको सबैभन्दा आकर्षणको केन्द्र हो– रूफटप लाउन्ज। १२ तलाको होटलमध्ये सबैभन्दा माथिल्लो तल्लामा लाउन्ज बनाइएको छ।
त्यहाँबाट काठमाडौं उपत्यकालाई ३६० डिग्रीमा दृश्यावलोकन गर्दै लाउन्जले पस्किने स्वाद चाख्न पाइन्छ। साँझपख बत्तीले झिलिमिली बनेको सहर, केही पर देखिने हिमालका चम्किला चुचुरा नियाल्दै खुला आकाशमुनि विश्वस्तरीय व्यवस्थापनको भोजन रूफटप लाउन्जको मुख्य विशेषता हो।
रुफटफ लाउन्जको अर्कोपट्टि शान्त र हरियाली आउटडोर रेस्टुरेन्ट सजाइएको छ। जसलाई ‘फेसेस अलफ्रेस्को’ नाम दिइएको छ।

होटलको मेनुमा नेपाली स्वादलाई अन्तर्राष्ट्रिय शैलीमा पस्किएको छ भने समकालीन भारतीय र एसियाली परिकारले स्वादका पारखीहरुलाई नौलो अनुभव गराउनेछ।
होटलको दशौँ तलामा फैलिएको १६२ वर्गमिटर क्षेत्रफलको विशिष्ट क्लब लाउन्ज अर्को आकर्षण हो। सहरको कोलाहलभन्दा माथि रहेको यो स्थानबाट उपत्यका र हिमालको अनुपम दृश्य देखिन्छ।

होटलले रूफटपमै स्विमिङ पुल बनाएको छ। त्यहीँ सजाइएको अत्याधुनिक हेल्थ क्लबले व्यायाम र विश्रामको रोचक अनुभव दिन्छ।
आधुनिक जीवनशैलीलाई आराम दिने गरी होटलले उच्चस्तरीय स्वास्थ्य तथा मनोरञ्जन सुविधा उपलब्ध गराउँदै छ। यहाँको स्पामा हुने मसाज, फेसियल र विशेषज्ञ सैलुन सेवा उपलब्ध छन्।
‘क्राउन प्लाजा काठमाडौं पुल्चोक’ केवल पर्यटकका लागि मात्र होइन, भव्य समारोह र व्यावसायिक कार्यक्रमका लागि पनि नयाँ केन्द्र बन्ने तयारीमा छ।
विशाल बैंक्वेट हल, आधुनिक अडियो–भिजुअल प्रणालीले विवाह, रिसेप्सन, कर्पोरेट मिटिङ र अन्तर्राष्ट्रिय सम्मेलनलाई विश्वस्तरीय रुपमा आयोजना गर्ने मञ्च यो होटलले तयार गरेको छ।

होटलमा १७५ वटा कोठाहरु छन्। तीमध्ये एउटा प्रेसिडेन्टल सुइट, चारवटा एक्जुकेटिभ सुइट, ८ वटा जुनियर सुइट, २ वटा अपांगमैत्री कोठा, ६२ वटा स्ट्यान्डर्ड टुइन र ९८ वटा स्ट्यान्डर्ड किङ साइजका कोठाहरू रहेको होटलका नवनियुक्त महाप्रबन्धक जयदेव दत्तले जानकारी दिए।
९ रोपनी क्षेत्रफलमा फैलिएको होटलको सुरुवाती लगानी २ अर्ब ५५ करोड अनुमान गरिएको थियो। तर, अहिले भने लगानी निकै बढेको होटल व्यवस्थापनले बताएको छ।
सीजी होल्डिङस्ले केही समयअघि नगरकोटमा भंगेरी दरबार बुटिक होटल सञ्चालनमा ल्याएको थियो। सीजीले बूढानीलकण्ठमा मिराकी र चितवनमा टाइगरल्यान्ड रिसोर्ट सञ्चालन गरिरहेको छ।




Shares

प्रतिक्रिया