समाज


हत्या अभियोगमा एकजना जेल चलान, १० नाबालकलाई सुधारगृह पठाइने

हत्या अभियोगमा एकजना जेल चलान, १० नाबालकलाई सुधारगृह पठाइने

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ४:५,

तनहुँको भानु नगरपालिका-१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको छ।

न्यायाधीश वासुदेव पौडेलको इजलासले गुरुङको हत्यामा संलग्न भएको अभियोगमा भानु नगरपालिका–५ बस्ने राजु अछामीलाई बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सोही अभियोगमा पक्राउ परेका भानु–५ का १० नाबालकलाई बन्दाबन्दी खुलेसँगै बाल सुधारगृहमा पठाउने गरी संरक्षकको जिम्मा लगाइएको छ। कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै उनीहरुलाई हाल अभिभावकको जिम्मा लगाइएको जिल्ला अदालत तनहुँ फिराद शाखाले जनाएको छ। उनीहरुलाई पछि बाल सुधारगृह कास्की पठाइनेछ।

त्यसैगरी भानु–५ का वडाध्यक्ष प्रकाश मल्ललाई ५० हजार र भानु–६ का गोविन्द मगरलाई एक लाख धरौटी लिएर तारेखमा रिहा गर्ने आदेश भएको छ। साथै सोही अभियोगमा पक्राउ परेका तीन जनालाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ।

गुरुङको हत्या अभियोगमा मृतकका बुबा बुद्धिराजले वडाध्यक्ष मल्लसहित १६ जनाविरुद्ध गत वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरेका थिए। वैशाख ९ गते रातिदेखि हराएका गुरुङ भानु–५ नावरुङस्थित खोल्सामा १० गते साँझ मृतावस्थामा फेला परेका थिए।

घटना विवरण अनुसार वडाध्यक्ष मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि उनले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिनका लागि बोलाएका थिए।

सामान लिन पवनसँगै उनका साथी दीपक भण्डारी, अङ्कित अधिकारी र गुरुङ पनि नावरुङ पुगेका थिए। नावरुङमा स्थानीयवासी गोविन्द थापा मगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीयवासी युवा र गुरुङसहितको टोलीबीच झगडा परेको थियो। सोही रातदेखि बेपत्ता गुरुङको शव फेला परेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad