बंगालको खाडीबाट निस्केर अहिले भारतका पश्चिम बंगाल र ओडिसा राज्यमा विध्वंश मच्चाइरहेको अम्पुन नामको सामुद्रिक आँधी (चक्रवात)को प्रभावले आज (बिहीबार) पनि नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात गराउने मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मध्य र पूर्वी भूभागमा मौसम पूर्ण बदली भएको छ भने पश्चिम क्षेत्रमा आंशिक बदली छ।
‘आज बिहान काठमाडौंसहित मध्य र पूर्वका केही स्थानमा वर्षासमेत भएको छ,’ मौसमविद् सजिना शाक्यले भनिन्, ‘आज दिउँसो पूर्व र मध्य क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।’
वर्षा हल्कादेखि मध्यमसम्मको हुने उनले बताइन्। यस्तै पूर्वका उच्च हिमाली भेगमा आज हल्कादेखि मध्यसम्म हिमपात हुने सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
माैसमविद्का अनुसार बंगालको खाडीमा बनेको चक्रवात जमिनमा प्रवेश गरिसकेको छ र कमजोर हुने क्रममा छ। नेपालमा त्यसकाे अप्रत्यक्ष प्रभावले माैसम बदली भइरहेकाे हाे। साथै स्थानीय वायुको समेत प्रभाव रहेकाले मेघगर्जन र हावाहुरीकाे समेत सम्भावना रहेकाे माैसमविद् शाक्यले बताइन्।
नेपालमा अम्पुनकाे प्रभाव मंगलबारदेखि नै परिरहेको छ र अझै १-२ दिन रहने अनुमान गरिएकाे छ।
याे पनि:
अम्पुन आँधी अपडेटः पश्चिम बंगालमा कम्तीमा १० जनाको मृत्यु, ५ लाखको उद्धार

प्रतिक्रिया