गत वर्ष भएको जेनजी आन्दोलनका कारण मधेस प्रदेश सरकारको करिब तीन अर्ब रूपैयाँ बराबर आर्थिक कारोबारको लेखापरीक्षण हुन नसकेको पाइएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा भएको लेखापरीक्षण तथा आर्थिक अनुगमनसम्बन्धी समेटिएको प्रतिवेदनअनुसार दुई अर्ब ९१ करोड ४२ लाख १२ हजार बराबरको कारोबार परीक्षण हुन नसकेको पाइएको हो।
महालेखापरीक्षक कार्यालयका नायव महालेखा परीक्षक ताराप्रसाद पाण्डेले मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई सो लेखा परीक्षण प्रतिवेदन हस्तान्तरण गरेका छन्।
प्रतिवेदनमा भनिएको छ, ‘प्रदेश सरकारका ९ मन्त्रालय र मातहत कार्यालयले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र घटनाको कारण श्रेस्ता पेस गर्न र लेखापरीक्षण गराउन कागजागत पेस गर्न नसकिएका कारण दुई अर्ब ९१ करोड ४२ लाख १२ हजारको लेखापरीक्षण गर्न सकिएको छैन।’
प्रतिवेदनअनुसार प्रदेश सरकारले कुल बजेटमध्ये आफू मातहतका १३४ सरकारी कार्यालयको ४५ अर्ब ७० करोड, ७४ लाख ७१ हजार र समिति तथा अन्य १६ संस्थाको ३ अर्ब ९८ करोड ६४ लाख ७२ गरी कुल ४९ अर्ब ६९ करोड ३९ लाख ४३ हजारको लेखापरीक्षण सम्पन्न गराएको छ।
महालेखापरीक्षकको कार्यालयले प्रदेश सरकारको वित्तीय व्यवस्थापनमा कमजोरी देखिएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा खर्चको तुलनामा अभिलेख व्यवस्थापन कमजोर रहेको, कतिपय कार्यालयले बैंक मिलान विवरणसमेत नियमित नराखेको तथा बेरुजु नियन्त्रणमा प्रभावकारी काम नभएको उल्लेख गरिएको छ।
प्रतिवेदनले प्रदेश सरकारको बेरुजु रकमसमेत उल्लेख गरेको छ। प्रदेशको कुल बेरुजु रकम १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार अर्थात् कुल बजेटको खर्च रकम मध्ये ३.७७ प्रतिशत बेरुजु रहेको जनाइएको छ। तीमध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र प्रमाण कागजात पेस गर्नुपर्ने शीर्षकका बेरुजु उल्लेखनीय रहेको प्रतिवेदनमा उल्लेख छ।
महालेखापरीक्षक कार्यालयका नायव महालेखा परीक्षक ताराप्रसाद पाण्डेले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका लेखापरीक्षण तथा आर्थिक अनुगमनसम्बन्धी विवरण समेटिएको प्रतिवेदन बुधबार मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई हस्तान्तरण गरेका हुन्।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम तयार गरिएको उक्त प्रतिवेदनमा सरकारी निकायहरूको आर्थिक अनुशासन, बजेट खर्चको अवस्था, राजस्व संकलन, सार्वजनिक वित्तीय व्यवस्थापन तथा लेखापरीक्षणसम्बन्धी विविध पक्ष समावेश गरिएको जनाइएको छ।
प्रदेश सरकारको लागि सशर्त अनुदानतर्फ दुई अर्ब दुई करोड ६४ लाख २१ हजार प्राप्त भएकोमा खर्च हुन नसकी ४ करोड ७० लाख ६५ हजार बचत भई संघीय सरकारलाई फिर्ता भएको छ।
Shares

प्रतिक्रिया