एकीकृत जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र चर्किएको संसदीय दलको नेता विवाद अझै समाधान हुन सकेको छैन।
विवाद समाधानका लागि नयाँ नेता चयन गर्नेबारे बुधबार बसेको संयुक्त बैठक पनि प्रक्रियामै अल्झेर निष्कर्ष निस्किन सकेन। अब बिहीबार पुनः बैठक बसेर दलको नेता चयन गर्ने बताइएको छ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला जसपा नेपालभित्र दलको नेतामाथि विवाद उत्पन्न भएको थियो। तत्कालीन जसपा नेपालका सरोज यादव र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जितेन्द्र सोनल दुवैले आफू संसदीय दलको नेता भएको दाबी गरेपछि विवाद चर्किएको थियो।
यही विवादका कारण मुख्यमन्त्री यादवले निर्धारित समयमा विश्वासको मत लिन नसकी प्रक्रिया आगामी शुक्रबारसम्मका लागि धकेलिएको छ।
विवाद समाधानको प्रयासस्वरूप बुधबार दुवै पक्षका प्रदेश सांसदहरूको बैठक बोलाइएको थियो। दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म चलेको छलफलमा नयाँ नेता चयन गर्ने विधिबारे मात्रै सहमति खोजिएको छ।
बैठकमा सहभागी एक सांसदका अनुसार नेता सर्वसम्मतिबाट चयन गर्ने कि निर्वाचनमार्फत् भन्ने विषयमा गहन छलफल भए पनि निष्कर्ष निस्कन सकेन। अन्ततः बिहीबार पुनः बैठक बस्ने निर्णय गर्दै छलफल स्थगित गरिएको हो।
ती सांसदका अनुसार बुधबारको बैठकमा कसैले औपचारिकरूपमा दाबी प्रस्तुत नगरे पनि आन्तरिकरूपमा नेताका आकांक्षीहरू सक्रिय देखिए। जसपा नेपालका वर्तमान नेता यादवले यसैलाई निरन्तरता दिएर अघि बढौँ भन्ने कुरा राखेका थिए।
तत्कालीन जसपा नेपालबाट सरोजकुमार यादव र लालबाबु राउत तथा लोसपा नेपालबाट जितेन्द्र सोनलले दाबी गर्ने आन्तरिक तयारी रहेको स्रोतको दाबी छ।
अब बिहीबारको बैठक निर्णायक बन्ने अपेक्षा गरिएको छ। सुरुमा सर्वसम्मतिको प्रयास गरिने र त्यसमा सहमति जुट्न नसके निर्वाचन प्रक्रियाबाट नेता चयन गरिने तयारी छ।
एकीकृत जसपा नेपालको संसदीय दलको नेता को बन्छ भन्ने चासो अहिले मधेस प्रदेशको राजनीतिको केन्द्रमा छ। किनकि नयाँ नेता चयनसँगै प्रदेश सरकारको आगामी नेतृत्व, सत्ता समीकरण र राजनीतिक दिशा तय हुने आकलन गरिएको छ।
Shares

प्रतिक्रिया