मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (मंगलबार बिहान) मधेस र बागमती प्रदेशसहित गण्डकी प्रदेशको पहाडी र हिमाली भेगमा साधारणतया बादल लागेको छ। कोसी प्रदेशसहित गण्डकी प्रदेशका तराई तथा बाँकी हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ। गण्डकी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशका हिमाली र पहाडी क्षेत्र तथा कोसी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ।
यस क्रममा दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी र प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। यी प्रदेशका हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। अनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा तातो दिन हुने सम्भावना छ।
मौसम महाशाखाका अनुसार राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशसहित बाँकी पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यस क्रममा राति गण्डकी प्रदेशसहित कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान साथै मधेस प्रदेशसहित कोसी, र लुम्बिनी प्रदेश तथा बागमती प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। अनि हिमाली भेगमा हिमपातको सम्भावना छ।
काठमाडौँमा हल्का वर्षाको सम्भावना
काठमाडौँ उपत्यकामा पनि आज बिहानैदेखि मौसम बदली भएको छ।
आज काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।
‘अहिले बिहान पनि काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ’, उनले नेपालखबरसँग भने, ‘हल्कासम्म वर्षा हुने सम्भावना छ।’
त्यसो त बेलाबेला घाम पनि देखिने सम्भावना रहेको मौसमविद् दाहालले बताए।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया