सुधार गृहको रूपमा हुनुपर्ने कारागारमा ठूलो सङ्ख्यामा कैदीबन्दी राखिएकाले धनकुटा कारागारको अवस्था, सुरक्षा व्यवस्था र चुनौतिका बारेमा जानकारी लिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनुगमन गरेको छ।
इन्सेक कोसी प्रदेश संयोजक मनोहर कुमार पोखरेल नेतृत्वको टोलीले हिरासत कक्ष र कारागारको अवस्थाका साथै थुनुवा र कैदीबन्दीहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य अवस्था, खानपान, सरसफाइ र उनीहरूमाथि हुने व्यवहारको बारेमा स्थलगत अनुगमन गरेको हो।
इन्सेकले कारागार र हिरासत कक्षमा क्षमताभन्दा बढी मानिस राखिएको/नराखिएको, उनिहरूमाथि कुनै पनि किसिमको यातना वा अमानवीय व्यवहार भए÷नभएको, थुनुवाहरूको नियमित स्वास्थ्य परीक्षण भए/नभएको, कानुन व्यवसायी र परिवार भेट्न र स्वतन्त्र रूपमा बयान दिन पाए÷नपाएको, स्वच्छ खानेपानी तथा शौचालयको सुविधा र सुत्ने ठाउँको अवस्था र आधारभूत औषधोपचारको पहुँचको अवस्थाबारे बुझ्न नियमित रूपमा अनुगमन गर्दै आएको छ।
‘सरकारकै नीतिअनुरुप कारागारहरूलाई यातना गृहबाट सुधार गृहमा रूपान्तरण गर्नु र कैदीबन्दी तथा थुनुवाहरूको आधारभूत मानव अधिकार सुनिश्चित गर्नु अनुगमनको उद्देश्य हो’ इन्सेक कोसी प्रदेश संयोजक पोखरेलले भने, ‘कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राख्नु पर्दा सुरक्षा व्यवस्था चुनौतिपूर्ण रहेको र यसले कैदीबन्दीहरू आधारभूत मानव अधिकारबाट समेत वञ्चित रहनु परेको पाइयो।’
कारागारमा कैद भोगिरहेका कैदीहरुलाई समाजमा पुनस्र्थापित गर्न आवश्यक पर्ने ज्ञान, सीप, नैतिकता र आत्मविश्वासको विकास गर्नु आवश्यक रहेको भन्दै पोखरेलले कैदीहरुलाई विभिन्न तालिम, प्रशिक्षणबाट सुधार गरी समाजोपयोगी नागरिकमा रुपान्तरण गर्दै समाजमा पुनस्र्थापना गर्ने प्रयास राज्यको हुनुपर्ने बताए। कैदीबन्दीहरुको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति बढी संवेदनशील हुन उनले आग्रह गरे।
जम्मा ३५ जनाको क्षमता रहेको धनकुटा कारागारको पुरुष कक्षमा एक सय ६९ जना कैदीबन्दी रहेका छन् भने १५ जना क्षमता भएको महिला कारागारमा तीन जना कैदी रहेका छन्।
कारागारका कैदीबन्दीहरुले खान, बस्न, सुत्न, परिवारसँगको भेटघाटसहित पत्रपत्रिका, रेडियो, टेलीभिजन, टेलिफोनको व्यवस्था भएको बताए। कारागारमा रहेका २० जना कैदीवन्दीहरुले सामुहिक रुपमा मुढा लगायतका बाँसका सामाग्री बनाएर बिक्री गर्दै आएका छन्। कारागारका चौकीदार रामकुमार राईले कारागारमा शौचालयको शेफ्टी ट्याङ्कीको निकास र खानेपानीको समस्या रहेको बताए।
कारागारका जेलर सन्दीप न्यौपानेले कारागार भित्र महिला कक्षमा एक ओटा र पुरुष कक्षमा आठ ओटा टेलिभिजन र चार ओटा टेलिफोन रहेको तथा पुरुष कक्षमा ६ ओटा शौचालय तथा महिला कक्षमा एक ओटा शौचालय रहेको बताए। कारागारमा दरबन्दी रहेपनि करिब दुई वर्षदेखि अहेवको पद खाली रहेको र केही समयदेखि कम्प्युटर अपरेटरको दरवन्दी पनि खाली रहेको जेलर न्यौपानेले बताए।
जिल्ला प्रहरी कार्यालय, धनकुटाको थुनुवा कक्षको अनुगमनका क्रममा नयाँ निर्माण भएको प्रहरी कार्यालयको भवनमा महिला, बालबालिका र ठूला मानिसका लागि छुट्टाछुट्टै तीनओटा हिरासत कक्ष रहेका छन्। जसमा एक महिलासहित २३ जना थुनुवा रहेका थिए। लागुऔषधका आरोपित थुनुवाहरुले हिरासत कक्षमा लामो समय बस्नु पर्ने भएकाले टेलिभिजनको व्यवस्था हुनुपर्ने माग गरे।
जिल्ला प्रहरी कार्यालयका एसपी नारायण रञ्जितकारले नयाँ भवन बनेपछि मानव अधिकारमैत्री थुनुवा कक्ष भएको र बन्दीहरुलाई मैत्रीपूर्ण व्यवहार गर्ने गरिएको बताए। जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राही र थुनुवाका आफन्तहरूलाई सहजीकरण गर्न नागरिक सहायता कक्ष नै स्थापना गरी आवश्यक सहयोग गर्ने गरिएको उनले बताए।
कारागार अनुगमनमा इन्सेक प्रदेश संयोजक पोखरेलसहित इन्सेक प्रतिनिधी ईश्वर थापा र पत्रकार सन्तोष सुवेदीलगायतको सहभागिता रहेको थियो।
सोही क्रममा इन्सेक प्रदेश प्रमुख पोख्रेलले धनकुटा जिल्ला अदालतका प्रमुख न्यायाधीश हरिश्चन्द्र इङ्नाम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी प्रमुख नारायण रञ्जितकार, जिल्ला कारागारका जेलर सन्दीप न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष बिदुर खवासलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६, स्थितीसूचक र इन्सेक डायरी हस्तान्तरण गरे।
उनीहरूसँग जिल्लामा मानव अधिकार र शान्ति सुरक्षाको अवस्था, नागरिकको जीवनस्तरमा मानव अधिकारको प्रत्याभूति, कानुन कार्यान्वयनका चुनौती, न्यायमा पहुँचको स्थिति, एकापसप्रतिको अपेक्षाबारे छलफल र सुझावहरु आदानप्रदान भएको थियो।
Shares

प्रतिक्रिया